रोकियो भारत–अफगानिस्तानको व्यापार

53

भदौ ४,
एजेन्सी । काबुलमाथि तालिबानको कब्जापछि भारतसँग व्यापारको विषयमा सबैभन्दा बढी आशंका जताइँदै थियो । अब यो वास्तविकतामा परिणत भइरहेको देखिएको छ । भारतका अनुसार तालिबानले उसँगको सीमापार व्यापार बन्द गरेको छ ।

चारैतिर मैदानी हिस्साले घेरिएको अफगानिस्तानसँग भारतको व्यापारिक लेनदेन मुख्य रुपमा पाकिस्तानको बाटो हुँदै गुज्रिन्छ । दुई देशबीच सडकमार्फत् हुने यो व्यापार अब ठप्प भएको छ ।
फेडेरेशन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेशन (एफआईईओ) का अनुसार गाडीको आवतजावत अब रोकिएको छ जसका कारण लाखौं डलरको सामानको आयात र निर्यात रोकिएको छ ।

फेडरेशन अफ इन्डिन एक्सपोर्ट अर्गनाइजेशनका महानिर्देशक अजय सहायले बीबीसीसँगको कुराकानीमा भने, ‘तालिबानले अफगानिस्तानसँग पाकिस्तानी सीमा सील गरेको छ । अफगानिस्तानबाट हुने धेरैजसो आयात पाकिस्तानको ट्रान्जिट रुट हुँदै आउँछ । हाल त्यो रुट बन्द छ । जबसम्म त्यो सीमा खोलिँदैन । उक्त सीमाबाट व्यापार बन्द छ । निर्यातकर्ता चिन्तित छन् । उनीहरु अलमलको स्थितिमा छन् ।’