मोटरसाइकलमाथि पुरुषको शव भेटियो

74

साउन ५,
विराटनगर । विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना व्यक्तिको शव भेटिएको छ । सोमबार राति विराटनगर महानगरपालिका -५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको हो । को४प २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका व्यक्ति विराटनगर-५ मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने रहेको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए ।

शव भेटिएपछि प्रहरीले पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाएको छ । मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिए पनि घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । मृतकले लगाएको पेन्ट च्यातिएको र दाहिने हातमा चोट देखिएका कारण घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।