सिन्धुपाल्चोक र मनाङ विपद् संकटग्रस्त क्षेत्र

110

साउन ४,
काठमाडौं । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम असोज मसान्तसम्म लागू हुने गरी दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।’ यसवर्ष बाढी र पहिरोबाट सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र मनाङमा भएको छ । सिन्धुपाल्चोकमा आएको बाढीले २६ जनाको घर बगेको छ भने ५६९ जना विस्थापित छन् ।

यस्तै मनाङमा बाढीमा परेर ५३ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । जिल्लाको चामे र ताल बजार क्षेत्र डुबानमा पर्दा करिब एक हजार जना प्रभावित भएका थिए । प्रभावितको उद्दारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी लगायतको टोली खटिएको थियो । यस वर्ष मनसुनबाट ६३ जनाको मृत्यु भएको, ३५ जना अझै बेपत्ता रहेको र ६३ जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।