सरकारी किताबमै पुरानो नक्सा

151

काठमाडौँ । लिपुलेक, कालापानी र लिम्पियाधुरा नसमेटिएको नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक विद्यार्थीलाई वितरण भइरहेको पाइएको छ । लिम्पियाधुरासम्मकै क्षेत्र समेटर नयाँ नक्सा एक वर्षअघि नै जारी गरिएको भए पनि सरकारले निःशुल्क वितरण गर्ने पाठ्यपुस्तकमै नक्सा अद्यावधिक नगरिएको हो । शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले समयमा निर्देशन नदिँदा जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशन गृहले सामाजिकलगायत विषयको पाठ्यपुस्तकमा पुरानै नक्सा छापेको स्रोतले जनाएको छ ।

पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिले अनुगमनमा सरकारले निःशुल्क वितरण गर्ने पाठ्यपुस्तकमै नयाँ नक्सा नरहेको पाइएको जनाएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले भने असार १ गते शैक्षिक सत्र सुरु हुँदै गर्दा पुरानो नक्सा छापेर बिक्रीवितरण गरे कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका थिए । ‘कुनै पुस्तकमा नयाँ, कुनैमा पुरानो नक्सा राखेर बिक्रीवितरण भइरहेको छ । एउटै पुस्तकको पनि कभरमा नयाँ र भित्र पुरानो नक्सा राखिएको पाइयो,’ समितिले गरेको अनुगमनमा सहभागी अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘पाठ्यपुस्तकमा पनि संवेदनशील भएको पाइएन, अनियमितता र मनपरी भेटियो ।’ उनले विद्यार्थीको हातमा नयाँ नक्सा भएकै पुस्तक पुर्‍याउनुपर्नेमा जोड दिए ।

शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा काठमाडौं उपत्यकाका पुस्तक पसलहरूमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा २०७८ सालमै छापिएका पाठ्यपुस्तकमा पनि पुरानो नक्सा राखेको पाइएको हो । लाखौं पाठ्यपुस्तक विभिन्न जिल्लामा पुगिसकेकाले यो शैक्षिक सत्रमा नयाँ नक्सा राख्न सम्भव नहुने जनक शिक्षाका एक अधिकारीले बताए । नयाँ नक्सा राखिएका पाठ्यपुस्तकमा नेपालको कुल क्षेत्रफल भने उल्लेख छैन । सरकारले नै आधिकारिक क्षेत्रफल सार्वजनिक नगरेकाले पाठ्यपुस्तकमा उल्लेख गर्न नसकिएको पाठ्यक्रम विकास केन्द्रका एक अधिकारीले जनाए । नयाँ नक्सा तर क्षेत्रफल कति भनेर विद्यार्थी अलमलमा पर्ने गरेको शिक्षकहरू गुनासो गर्छन् । कान्तिपुर दैनिक