ट्यांकर चालकहरुको आन्दोलन फिर्ता

232
सांकेतिक तस्विर

असार १, काठमाडौं । कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको आन्दोलन फिर्ता भएको छ ।नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ । ‘बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भयो र हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौं,’ संघका अध्यक्ष ईश्वर लामाले बताए ।
बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ । सहमतिअनुसार थानकोट डिपो र त्यहाँबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९०० जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् ।यस्तै अमलेखगञ्जका झण्डै १ हजार ४०० चालक–सहचालकलाई उतै खोप दिने सहमति भएको लामाले बताए ।आन्दोलित ट्यांकर चालक तथा सहचालकलाई खोप लगाउने विषयमा सहमति भएको र केहीबेरमा विस्तृत विवरण सार्वजनिक हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।