माधव समूह संसद सचिवालयमा, सामूहिक राजीनामाको तयारी

66

बैशाख २६,
काठमाडौं : नेकपा एमालेका माधव नेपाल समूहका सांसदहरू संसद् सचिवालयमा भेला हुन लागेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् विश्वासको मत लिदै गर्दा माधव समूहका नेताहरू आज सामूहिक राजीनामा दिने तयारीमा जुटेका हुन्।

छलफलका लागि आफूहरू संसद् सचिवालय पुगेको सांसद रामकुमारी झाँक्रीले बताइन्। ‘हामी आइसकेका छौँ। नेताहरू आउँदै हुनुहुन्छ। त्यसपछि हामी भेला भएर निर्णय गर्छाैं’, उनले भनिन्।

माधव समूहले पार्टी एकताका लागि ओलीले एकलौटी गरेको निर्णय फिर्ता गरेर २०७५ जेठ २ गतेमा फर्कनुपर्ने बताउँदै आएका छन्। तर, ओली आफ्नो निर्णयबाट फर्कन चाहेका छैनन्।

यसअघि माधव समूहको स्थायी कमिटी बैठक बसेको थियो। बैठकले ओलीले निर्णय फिर्ता नगरे सामूहिक राजीनामा दिने निर्णय गरेको एक नेताले बताए।

यसैबीच नेता नेपाललाई भेट्न नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल संसद् सचिवालयमा पुगेका छन्। अन्य सांससहित आइतबार दिउँसो करिब साढे ३ बजे नेपाल संसद् सचिवालय पुगेका थिए। उनलाई भेट्न अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरु केहीबेर अघि संसद् सचिवालयमा पुगेका हुन्।