भारतमा कोरोना भयावह,सरकार चीनसँग वार्ता गर्छ

156

बैशाख १९,
काठमाडौं : कोरोना साम्य भएको छिमेकी मुलुक चीनसँग प्रत्येक दुई–दुई महिनामा छलफल गरिरहेको सरकारले दक्षिणतर्फको छिमेकी भारतसँग पछिल्लो समय खासै छलफल गरेको छैन।

बिहीबार पनि नेपाल र छिमेकी मुलुक चीनका उच्चस्तरीय सुरक्षा टोलीबीच वार्ता भयो। नेपाल-चीन सीमा सुरक्षा अधिकारीहरूहरूले पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पीपीई) लगाइ रसुवास्थित मितेरी पुलमा छलफल गरेका हुन्‌।

यतिखेर भारतमा संक्रमण तीव्र फैलिरहेको छ। नेपाललाई पनि भारतकै हालतमा नपुर्‍याउन दुई देशबीचको खुला सीमा व्यवस्थित र नियमन गर्नु अत्यावश्यक भइसकेको छ। यस्तो स्थितिमा दुई देशबीच तत्काल संवाद हुन आवश्यक देखिन्छ। तर, त्यसो हुन सकेको छैन।

कोरोना रोकथाम तथा न्यूनीकरण विषयमा चिनियाँ अधिकारीसँग छलफल भएको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए। ‘कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य मापदण्ड, नाका क्षेत्रको अवस्था र आवश्यक सहयोगको विषयमा चिनियाँ टोलीसँग छलफल भएको छ। उहाँहरू नेपालमा महामारी नफैलियोस्‌ भन्नेतर्फ निकै संवेदनशील हुनुहुन्छ’, उनले भने।

चीनको वुहानबाट शुरू भएको भनिएको कोरोना भाइरसबाट विश्व नै प्रभावित छ। अन्यत्र महामारीको दोस्रो र तेस्रो लहर भयावह बनिरहँदा चीनले त्यहाँ महामारी नियन्त्रण गरिसकेको छ।

चीनसँग निरन्तर रूपमा द्विपक्षीय वार्तामा बसेपनि भारतसँग कोरोना नियन्त्रणका लागि वार्ता भने बस्न नसकेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वीकार्छन्।