डाक्टर गाेविन्द केसीकाे स्वास्थ्य अवस्था जटिल

167

धनगढी । धनगढीमा डाक्टर गाेविन्द केसीले सत्याग्रह सुरु गरेकाे पाँचाै दिन पुगेकाे छ। पाँचाै दिनमा डाक्टर गोविन्द केसीको स्वास्थ्यमा थप समस्या देखा परेको छ। धनगढीमा जारी सत्याग्रहको शुक्रबार पाँच दिन पुग्दा सेती प्रादेशिक अस्पतालले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अवस्था जटिलतर्फ गइरहेको जनाएको हाे।
२० औँ सत्याग्रहका लागि धनगढी आएका डाक्टर केसीले सोमबारदेखि सत्याग्रह सुरु गरेका हुन्।
सेती प्रादेशिक अस्पतालले टाउको दुख्ने, रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, मांसपेशी दुख्ने र मुटुको धडकनमा गडबढी हुने समस्या देखा परेको जनाएको छ।
अस्पतालका अनुसार डाक्टर केसीको रक्तचाप घटेर ९० र ६० काे हाराहारीमा पुगेको, श्वासप्रश्वास दर बढ्दै गएको र शरीरको तौल घट्दै गएको जनाएकाे छ।
शुक्रबारकाे प्रयोगशाला रिपोर्टअनुसार सुगरको मात्रा ४१ पुगेको, क्याल्सियम, फस्पोरस र म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको देखिएको छ।
डाक्टर केसीलाई शुद्ध पानी, नर्मल स्लाइन र रिङ्गर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सक टोलीबाट नियमित स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएको छ।