नेपालमा १२ हजार महिला र १८ हजार पुरुषमा एचआइभी संक्रमण

193

चैत ३१,
काठमाडौँ । नेपालमा सन् २०२० को एक तथ्याङ अनुसार एचआइभी÷एड्सबाट प्रभावितकोे महिलाका् संख्या ११ हजार ९१६ जना रहेको देखाउँछ । प्रभावित पुरुषको सङ्ख्या पनि १७ हजार ५८७ जना तथ्याङ्क छ । राष्ट्रिय एचआईभी तथा एड्स महासङ्घका अनुसार नेपालमा हाल २९ हजार ४२० जना महिला÷पुरुष एचआईभी÷ एड्सबाट प्रभावित छन् र २१ हजार ७२० जनाले मात्र नियमित एआरटी खाइरहेका छन् । प्रभावितको तथ्याङ्कमध्ये बालबालिकाको सङ्ख्या मात्र १३ हजार ३६ छ ।

महिलाको हकमा यदि एचआइभी÷एड्स सङ्क्रमण भएको थाह भए घरमा मात्र होइन, समाजबाटै तिरस्कृत हुनुपर्ने अवस्था अझै रहेको अभियन्ता नातीसरा राईको अनुभव छ । विगत दस वर्षदेखि एचआईभी÷एड्सबाट प्रभावितका बीच काम गरिरहनुभएकी राई महामारीको बेला रोग प्रतिरोधात्मक क्षमता कम हुने व्यक्तिहरु बढि प्रभावित तथा सङ्क्रमित हुने कारणले जीवन रक्षाको कार्यक्रम वा तयारी हुनुपर्नेमा जोड बताउछिन् । प्रभावितलाई नकारात्मक दृष्टिकोणले हेर्ने, समाजले तिरस्कार गर्ने कारणले धेरै महिला÷पुरुष र प्रभावितबाट जन्मिएका सन्तानको समेत पहिचान लुकाएर राख्नुपर्ने अवस्थाको अन्त्यका लागि सन् २००६ मा शक्ति मिलन समाजको स्थापना गरेर राईले काम गर्दै आएकी छिन् ।

महासङ्घका वरिष्ठ कार्यक्रम संयोजक प्रकाशनाथ योगीले २९ हजारभन्दा बढी प्रभावितमध्ये आठ हजारभन्दा बढीले औषधि खाइरहेका छैनन् भने उनीहरुको खोजी हुनुपर्ने बताए । महामारी, प्राकृतिक विपत्तीको बेलामा एक दिन पनि नटुटाई खानुपर्ने एआरटी प्रभावितसम्म पु¥याउन समस्या आउन सक्नेतर्फ बेलैमा सचेत हुनुपर्ने उनको भनाई छ । सरकारले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको स्थापना गरी देशैभर रहेका प्रभावितका लागि एआरटी निःशुल्क उपलब्ध गराइरहेको छ । विगतमा सरकारले पाँच वर्ष मुनिका बालबालिकाको हकमा पौष्टिक आहार पनि वितरण गर्दै आएकोमा हाल हटाइएकोप्रति महासङ्घले त्यो सुविधा पुनः सञ्चालन गर्नुपर्ने आवाज उठाउँदै आएको छ ।