सिपाडोलको गाई फर्ममा युवकको हत्या

930

बैशाख २,
भक्तपुर । भक्तपुरको रहेको एक गाई फर्ममा युवकको हत्या भएको छ । सूर्यबिनायक नगरपालिका वडा नं. ८ सिपाडोल मुलबाटो रहेको गाई फर्ममा अन्दाजी २० बर्षको युवको लाश फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । गोकुल बहादुर खुलालले संचालन गरेको गाई फर्ममा सोलुखुम्बु घर भई मनोहरा सुकुम्बासी बस्तीमा बस्ने ईश्वर राईको शव भेटिएको परिसरका सूचना अधिकारी डीएपी दिपक गिरीले बताए । विहिबार दिउसोँ ४ बजे एउटा युवकको हत्या भएको र हत्या गर्ने ब्यक्ति भाग्दै गरेको छ भन्ने सूचना आएपछि प्रहरी बृत्त जगातीबाट गएको डीएसपी राजेश थापाको टोलीले अभियुक्तलाई तत्कालै नियन्त्रणमा लिएको थियो ।

मृतक राईले आशिष खुलाललाई फोन गरी उनीसंग महोत्तरी जिल्ला घर भई मनोहरा सुकम्बासी बस्ती तिर बस्ने युनिस योञ्जन र सुनिल बल समेत तीन जना सिपाडोल गएका प्रहरी अनुसन्धानमा खुलेको छ । ‘खुलाललाई भेटी गाई फर्मको टहरा भित्रबाट चुकुल लगाएर चारै जना व्यक्तिहरु बसी कुराकानीकोक्रममा बादबिवाद भई झै–झगडा भएको देखिन्छ,’ डीएसपी गिरीले भने ।
झगडाको क्रममा खुलालले कोठामा भएको खुकुरीले ईश्वर राईलाई प्रहार गर्न थाले पछि योञ्जन र बल झ्यालबाट भाग्न सफल भएको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् । राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले राईको हत्या गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटार स्थायी घर भई सुर्यबिनायक नगरपालिका वडा नं. ८ सिपाडोल गाई पालन गर्ने गोकुल बहादुर खुलालको छोरा बर्ष २० को आशिष खुलाललाई पक्राउ गरेको छ । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको परिसरका प्रहरी नायव उपरिक्षक गिरीले जानकारी दिएका छन् ।