खोई प्रदेशको नाम र राजधानी ?

217

चैत ३०,
जनकपुरधाम । प्रदेश २ का सांसदले अहिलेसम्म प्रदेशको नामाकरण र स्थायी राजधानी नतोकिएकोमा आक्रोश व्यक्त गरेका छन् । उनीहरुले प्रदेशको नाम र राजधानी नतोक्ने सरकारलाई निकम्माको संज्ञासमेत दिए । ६ महिनापछि सोमबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै प्रतिपक्षी र सत्ता पक्षकासमेत सांसदले प्रदेशको नाम र राजधानी नतोकिनु दुःखद रहेको बताए ।

नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले सरकार गठन भएको साढे तीन वर्ष बित्दासमेत प्रदेशको नाम र स्थायी राजधानी तोक्न नसक्नु सरकारको कमजोरी रहेको बताए । सरकारले समन्वयकारी भूमिका नदेखाउँदा यो महत्वपूर्ण काम हुन नसकेको उनले बताए ।
कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले स्थायी राजधानी तोक्ने विषयमा सर्वसम्मत निर्णय भएपनि सरकार त्यसबाट पछि हटेको बताए । प्रदेश सरकारले मधेश नाममा सहमति जुटाउन नसक्दा स्थायी राजधानी पनि तोक्न नदिएको उनले बताए ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव ल्याएको बेला सरकारले घनिभूत छलफल नगरेका कारण टुंगोमा पुग्न नसकेको बताए । स्थायी राजधानी तोकिएपछि आफ्नै भवन बनाएर मन्त्रालय बनाउन सकिने उनले बताए ।
कांग्रेसका सांसद शिवचन्द्र चौधरीले अब पनि प्रदेशको नाम र राजधानी नतोकिए ठूलो कलंकको टीका बोक्नुपर्ने बताए ।