अस्ट्रेलियामा भारी वर्षाले जनजीवन प्रभावित

255

काठमाडौं । अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा लगातार परेको मुसलधारे वर्षाका कारण बाढी र डुवान हुन थालेपछि स्थानीय सरकारले हजारौं मानिसलाई घर छाड्न र सुरक्षित ठाउँमा जान अनुरोध गरेको छ। ह्र्याक्सबरी र नीपीयन नदीमा जलासयले खतराको सीमा नाघेपछि सरकारले १८ हजारलाई सुरक्षीत स्थानमा सारिसकेको छ। सिड्नी नजीकैको पेनरिथ, मुलोगा र जेमिसनको पश्चिमी क्षेत्र सबैभन्दा बढी डुबानको खतरा छ। मानवीय क्षति नभए पनि यसले धेरै मानिसलाई उठीवास लगाएको छ।

न्यूसाउथवेल्स राज्यको आपतकालीन सेवा विभागका कमिश्नर डेनियल अस्टीनले प्रभावित क्षेत्रका लागि चेतावनी जारी गरिएको र स्थितिलाई निकै नजिकबाट नियालिरहेको बताएका छन्। उनले यी क्षेत्रमा बसोबास गर्नेहरुलाई सावधान रहन पनि भनेका छन्। न्यूसाउथवेल्सकी प्रिमियर ग्लेडिस बेरेजिक्लिनले न्यूक्यासल एयरपोर्टका सबै उडान बुधबारसम्मका लागि स्थगित गरिएको जानकारी दिइन्। बाढीका कारण १ सय ३० वटा स्कुल पनि आपतकालीन रुपमा बन्द गरिएको छ। दुई दिनअघिको भारी वर्षाका र हावाहुरीका कारण प्रभावित बनेको पोर्ट मक्वारी र टारीका अधिकांश घरहरु डुबेका कारण स्थानीयलाई लगाउने लुगाकै समस्या भएको जनाईएको छ।

यसैबीच संघीय सरकारले बाढी र आँधी प्रभावित बनेका १६ काउन्सिल क्षेत्रमा प्रकोप भुक्तानीलाई बढाएको छ। उनीहरुले आर्थिक सहायताको लागि आवेदन दिन सक्नेछन्। आईतबार राति ९ बजेसम्म आपतकालीन सहयोगका लागि १० हजार फोन कलहरु आएको र ८ सय उद्धार गरिसकिएको जानकारी प्राप्त भएको छ।