Monday, October 12, 2026
Home अन्तर्राष्ट्रिय म्यानमारका नागरिकलाई अमेरिकामा बस्‍न पाउने

म्यानमारका नागरिकलाई अमेरिकामा बस्‍न पाउने

178

फागुन २९,
वासिङ्टन। अमेरिकाले राजनीतिक सङ्‍कटमा फसेको म्यानमारका नागरिकलाई अमेरिका बस्‍न अस्थायी अनुमति दिने भएको छ। म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्‍न अस्थायी अनुमति दिने भएको हो। “सैन्य सत्ता विद्रोह र देशभित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय सङ्‍कट पैदा भएको छ, त्यसैले हामीले उनीहरुलाई अमेरिका बस्‍न अस्थायी अनुमति दिन लागेका छौँ,” गृहमन्त्री अलेजान्द्रो मायोर्कासले भने।

सरोकारवाला निकायहरुसँग परामर्श गरेर मन्त्रालय सो निर्णयमा पुगेको पनि उनले जानकारी दिए।
“म्यानमारमा भइरहेको आन्दोलन र अशान्तिका कारण कसैले म्यानमार छोडेर केही समयका लागि अमेरिका आउन चाहन्छन्, वा अमेरिकामा रहेका तर म्यानमार फर्किन चाहेका छैनन् भने उनीहरुलाई केही समय संरक्षकत्व दिन सकिन्छ,” उनले भने। यो व्यवस्था मार्च ११ पछि आवतजावत गर्नेहरुलाई लागू हुने निर्णय भएको पनि गृहमन्त्री मायोर्कासले जानकारी दिए। म्यानमारमा भएको सैन्य विद्रोहप्रति अमेरिका सहित विश्वका धेरै देशहरुले आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्था कायम गर्न आह्वान गरेका छन्। डेढ महिनादेखि भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ६० जनाको मृत्यु भएको छ भने एक हजार आठ सयभन्दा बढी गिरफ्तार भएका छन् तर आन्दोलन जारी छ।