भोलीको ओली पक्षको सभालाई तीन नेताले सम्बोधन गर्ने

310

माघ २२,
काठमाडौं । नेकपा केपी ओली पक्षको शुक्रबार हुने जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । उक्त सभालाई प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सम्बोधन गर्ने भएका हुन् । शुक्रबार सो समूहले ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्दैछ ।

नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताएका छन् । सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ । मध्याह्न १२ बजेदेखि हुने सभा अघि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ ।