युवा संगठनले कार्यक्रम गर्दा जसपामा विवाद

356

माघ १७,
काठमाडौं । जनता समाजवादी पार्टी गठन गरेको तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका युवा संगठनहरु आआफ्ना नेतालाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्दा पार्टीभित्र विवाद उत्पन्न भएको छ । तत्कालीन समाजवादी पार्टीका समाजवादी युवा संघले सातवटै प्रदेशमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम सम्पन्न गरिसकेको छ । अब त्यस्तै कार्यक्रम तत्कालीन राजपाले शुरु गरेको छ । यद्यपि राजपाले जसपाको युवा संगठन जनता समाजवादी पार्टी युवा संघको नामबाट कार्यक्रम गर्न लागेको हो । जब कि अहिले युवा संगठनमा समायोजन पनि भएको छैन ।भोलि जनकपुरमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई प्रमुख अतिथि राखेर प्रदेश २ को युवा भेलाको आयोजना तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

त्यस्तै प्रदेश १ मा जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरेको छ । माघ १९ गते झापाको दमक, २० गते मोरगंको विराटनगर, २१ गते, सुनसरीको इनर्वामा राष्ट्रिय युवा संघले कार्यक्रमको आयोजना गरेको छ । त्यो कार्यक्रमलाई प्रदेश १ का तत्कालिन समाजवादी पार्टी युवा संघ नेपालले विरोध गरेको छ । युवा संघका इन्चार्ज समिर नाछिरिङ, मुख्य सचिव पवन विष्ट, अध्यक्ष श्रीसुुब्बाले एक विज्ञप्ति जारी गरी त्यसको विरोध गरेका छन् ।

पूर्वराजपाका युुवा संघले प्रदेश १ मा कुनै सल्लाहै नगरी एकतर्फ रुपमा वरिष्ठ नेता ल्याएर कार्यक्रमको आयोजना गरेकोमा त्यसप्रति खेद प्रकट गरेको छ । समाजवादी र राजपा नेपालबीच एकीकरण भएपनि हालसम्म युवा संगठनको समायोजन भएको छैन । तर एकतर्फी रुपमा जनता समाजवादी युवा संघको नामबाट कार्यक्रमको आयोजना गरेको उनीहरुले आरोप लगाएका छन् । यो विज्ञप्तिको खण्डन तत्कालिन राजपा नेपालका राष्ट्रिय युवा संघले गरेको छ ।

समाजवादी युवा संघले निकालेको विज्ञप्ति समायोजन प्रकृया जसपा नेपालको घोषणापत्र अन्तरिम विधान, समायोजन निर्देशिकाको मर्म र भावना विपरित रहेको राष्ट्रिय युवा संघ प्रदेश १ का अध्यक्ष रोशन लिम्बुले जनाएका छन् । उनले यो विज्ञप्तिको कुनै आधिकारिकता नरहेको उल्लेख गर्दै वरिष्ठ नेता महतोलाई लक्षित गरि विवादस्पद र अवैधानिक निर्णय भएकोले बदर गराउनेतर्फ आवश्यक निर्देशिका जारी गरि दोषी उपर कडा कारवाही गर्न जसपा नेपाल केन्द्रीय कार्य समितिलाई ध्यानाकर्षण पनि गराएका छन् । -ratopati