किसान छाडेन थाले उखु खेती

179

पुस २२,
महोत्तरी । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–४ का किसान हीरालाल महतोले पोहोर साल ३ बिघा क्षेत्रफलमा उखुखेती गरेका थिए । तर यसपाली एक बिघामा मात्र उखुखेती गरेका छन् । महतोले उत्पादन गर्नुभएको उखुको भुक्तानी हालसम्म नपाउँदा उनले उखुखेती मासेर अन्नबाली खेती गर्ने सोचमा रहेका छन् । विगत लामो समयदेखि उखुखेती गर्दै आएका महतो मात्र होइन, त्यहाँका अर्का किसान धनेसी महतोको पनि यस्तै पीडा छ ।

“ऋण काढेर उखुखेती गरिन्छ”, उनले भने, “उखु मिलले समयमा रकम भुक्तानी नदिँदा ऋणमा डुब्ने डरले यसपालीदेखि उखुखेती गर्न छोडिएको छ ।” धनेसीले आफ्नो पीडा पोख्दै भने, “उधारोमा आफ्नो उत्पादन बेच्दा चिनी उद्योगीले समयमा रकम भुक्तानी नगरेको अवस्थाको कारण हामी उखुखेती छाडी अन्नबालीखेती गर्ने सोंचमा रहेका छौं ।” नगदेबालीको उधारो कारोवारले आजित भएका यहाँका उखुखेती गर्ने किसानहरु भुक्तानीका लागि निकै सास्ती खानु परेकाले जिल्लाको उत्तरी भेग बर्दिबासदेखि सुदूरदक्षिणको जलेश्वरसम्म विगत १५ वर्षदेखि उखुखेती गर्दै आएका किसान विस्तारै उखुखेती मासेर अन्नबालीखेती तर्फ आकर्षित हुन थालेका छन् ।

महोत्तरी भङ्गाहाकै अर्का किसान सूर्यदेव मुखियाले पनि वर्षौदेखि गर्दै आएको उखुखेती मासेर यसपाली डेढ बिघा क्षेत्रफलमा गँहुखेती गरेका छन् । जिल्लामा विगत लामो समयदेखि उखुखेती गर्दै आएका किसान क्रमशः अब यो पेशा त्यागेर नगदेबालीको साहारा लिन थालेका छन् । करिब २० हजार बिघामा व्यावसायिक रुपमा उखुखेती हुने महोत्तरी जिल्लामा अहिले यो क्रम घटदै गएको छ । अहिले जिल्लामा छ हजार ५०० बिघामा उखुखेती भइरहेको छ । “यसपालि छ हजार ५०० बिघामा उखु बाली छ”, उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने, “यसमध्ये दुई हजार ५०० बिघामा खुट्टी ९दोस्रो वर्षको बाली० उखु छ, यो यसपालि खाली भएपछि अर्का वर्ष तीन हजार बिघामा झर्छ ।”

एकपटक रोपेर दुई बाली लिइने उखुमा पहिलो वर्षको लाई ‘मुडन’ र दोस्रो वर्षको लाई ‘खुट्टी’ भनिन्छ । यसपालि नयाँ उखु बाली लगाउने किसान नदेखिएपछि अझै उखु घट्ने स्पष्ट देखिएको हो । उखु खेतीको तयारीमा प्राविधिक सहयोग र सुलभ ऋण नपाउनु, उखु खेतीको मूल्य निर्धारणमा बर्सेनि झमेला हुनु र भुक्तानी समयमा नपाएपछि यो खेती घट्दै गएको बताइएको छ । उखुखेती नगदेबाली र सरकारले यसलाई राष्ट्रियबाली भनेर घोषणा गरिसकेको छ । तर नगदेबाली भनिएको उखुको उधारो कारोवारले किसानलाई अहिले त्यही उखुखेती निल्नु न ओकल्नु जस्तो भएको छ ।

चिनी उद्योगले किसानको उखु किन्दा समयमै रकम भुक्तानी नदिएकाले किसान वर्षौदेखि प्रताडित हुँदै आएका छन् । उधारोमा उखु बेच्न बाध्य रहेका किसानले आफ्नो भुक्तानी लिन प्रत्येक वर्ष उखु मिलमा धाउनुपर्ने बाध्यता रहेको छ । जग्गा भाडामा लिएर तथा ऋण काढेर उखुखेती गरेका किसान जग्गाको भाडा, मल, बीउ, खेतालाको पैसा तिर्न नसकेर घरखेत लिलाम हुने अवस्थामा पुगेको उखु उत्पादक किसान सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताए । रासस