सुन्तलाले बजार पाएन

104
photo-Google

रुकुम पूर्व । जिल्लाको सिस्ने गाउँपालिका-८ सुनखानीका भिउसन नाथको दैनिकी सुन्तला बगैँचामा बित्न थालेको छ । बगैँचारभरी लटरम्मै फलेका टिप्न व्यस्त उहाँ सुन्तलाले बजार नपाउँदा भने निराश हुनुभएको छ । एकातिर बजारसम्मको सहज पुहँच छैन भने अर्कोतर्फ सुन्तलाले उचित मूल्य पनि नपाउने अवस्था छ । समयमा बिक्री गर्न नसक्ने सुन्तलालाई भण्डारनका लागि चिस्यान केन्द्रको सुविधा पनि छैन ।

नाथले १० रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्नुभएको छ । सुन्तला बिक्रीबाट बर्सेनि रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्ने नाथले यस वर्ष पनि रु दुई लाख बराबरको सुन्तला बिक्री गर्ने योजना रहेको बताउनुभयो । एउटा बोटबाट रु चार हजार बराबरको सुन्तला बिक्री भए रु चार लाख आम्दानी हुने उहाँको हिसाब छ । सोही ठाउँका अर्का किसान गोपाल पुनले पनि ३४ रोपनी क्षेत्रमा सुन्तला खेती गर्नुभएको छ । उहाँका बारीमा सुन्तलाका एक हजार बोट छन् । तर सबै बोटले फल दिँदैनन् केही सुन्तलाको बोट साना छन् । उहाँले सुन्तलाबाट गत वर्ष रु एक लाख ८० हजार आम्दानी गर्नुभएको थियो । सिस्ने गाउँपालिका अन्तर्गत वडा नं ७ र ८ मा राम्रो सुन्तला उत्पादन हुन्छ । वडा नं ८ मा मात्रै करिब ४० वटा सुन्तलाका बगैँचा छन् । सबै बगैँचामा सुन्तला फलेका छन् तर बजार नपाउँदा त्यत्तिकै खेर जाने डर किसानहरुमा छ ।

गाउँमा व्यापारीहरु सुन्तला खरिद गर्न नआउँदा किसानहरु आफैँले सुन्तला बोकेर रुकुम पश्चिमको खलङ्गा र रुकुम पूर्वको रुकुमकोटसम्म जान बाध्य छन् । सुन्तला भण्डारका लागि गाउँपालिकाले चार वर्षअघि निर्माण गरेको चिस्यान केन्द्र प्रयोगमा आउन सकेको छैन । यतिबेला झिमखोला, पाटा, स्यालापाखा, लम्पाकोट, सुनखानी र भुरुङ्गामा सुन्तला पाकेर पहेँलै भएका छन् । गाउँपालिकाले भने सुन्तला बिक्रीका लागि बजार व्यवस्थापनको पहल भइरहेको दाबी गरेको छ । गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले हाल एउटा सहकारीसँगको सहकार्यमा सुन्तला बिक्रीको व्यवस्था गर्न लागिएको बताउनुयो ।