नेपाल प्रहरीमा एसएसपीमा बढुवाको तयारी

179

काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्ने तयारी थालिएको छ । पुस १३ मा गृह मन्त्रालयले ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । एक सातासम्म कुनै उजुरी नपरेपछि डिआईजी बढुवा पूर्ण भएको छ । डिआईजीको अन्तिम सूची प्रकाशन गरेपछि तत्काल योग्यता पुगेका प्रहरी उपरीक्षकहरुलाई एसएसपीमा बढुवा सिफारिस गरिने गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

अहिले एसएसपीको ९ पद रिक्त छ । तर, पुस २९ मा दुईजना एसएसपी अवकाशमा जाँदै छन् । प्रहरी प्रधान कार्यालयका अनुसार डा. गणेश रेग्मी र राजकुमार बैदवार ३० वर्षे सेवाहदका कारण अवकाशमा जान लागेका हुन् । उनीहरु ०४७ माघमा प्रहरी सेवामा प्रवेश गरेका थिए । अवकाश हुनुभन्दा एक साताअघि बढुवा समितीले अवकास भइजाने बाहेकलाई बढुवा सिफारिस गर्न सक्छ । रिक्त हुने दुई सिटसहित ११ जना एसएसपीमा बढुवा हुँदैछन् ।

प्रतिस्पर्धामा को–को ?

काँधमा एसएसपीको फुली लाउन पाउने आकाङ्क्षामा सिनियर ब्याचका १३ जना प्रहरी उपरीक्षकहरु छन् । ०५१ मा प्रहरीमा सेवा प्रवेश गरेका विकासराज खनाल, कृष्ण कुमार महत, अर्जुनचन्द ठकुरी, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, मधुसुदन लुईटेल, मोहन पोखरेल र ध्रुवराज राउत एसएसपी बन्ने प्रतिस्पर्धामा छन् । सोही ब्याचका गोविन्द शाह, उमाशंकर पञ्जियार, सुरेन्द्र मैनाली, योगबहादुर पाल र टीका बहादुर केसी पनि एसएसपीका प्रतिस्पर्धी हुन् ।

प्रतिस्पर्धी गोविन्द शाहमाथि जिल्ला प्रहरी कार्यालय पर्सामा बस्दा राजस्व संकलनमा नै दखल पुग्नेगरी तस्करी गराएको आरोप छ । काँग्रेस नेता विमलेन्द्र निधिका निकट मानिने शाहलाई ‘तस्करी गराएको’ आरोपमा अवधि नपुग्दै पर्साबाट तानिएको थियो । उमशंकर पञ्जियार माओवादी युद्धकालमा जागिर छाडेर घरमा बसेका थिए । पछि, अदालतको आदेशले उनी प्रहरी सेवामा फर्किएका हुन् । बढुवा प्रतिस्पर्धी योगबहादुर पाल र टिका बहादुर केसी गुप्तचर (राष्ट्रिय अनुसन्धान विभाग)बाट नेपाल प्रहरीमा आएका हुन् ।

०५४ मा सेवा प्रवेश गरेका प्रहरी अधिकृतले पनि बढुवाको आकांक्षा राखेका छन् । यद्यपि उनिहरुलाई बढुवा नगर्ने प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले अडान लिएका छन् । यसअघि पनि थापाले सिनियारिटी मिचेर बढुवा नदिने नीति लिँदै आएका थिए । पछिल्लो ब्याचबाट सिद्धिविक्रम शाह, दानबहादुर कार्की, ईश्वर कार्की, सुशिल सिंह राठौर र ओम राना लगायतका अधिकृत एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् ।

गृह–सचिव, कर्मचारी प्रशासन शाखाका सह–सचिव र प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही सदस्य–सचिव रहने बढुवा समितिले एसएसपी बढुवा सिफारिस गर्ने कानुनी प्रावधान छ ।

दुई एसपी अवकासमा जाँदै

०४७ माघमा प्रहरी सहायक निरीक्षक (असई)बाट सेवा प्रवेश गरेका दुईजना एसपी पनि अवकासमा जाँदै छन् । प्रहरी उपरिक्षक राजेन्द्र विष्ट र रमेश थापा पुस २९ मा अवकाशमा जान लागेका हुन् । -रातोपाटीबाट