प्रधानमन्त्री ओलीको अर्को कदमः प्रदेशसभा विघटनको तयारी

224

पुस ९,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा विघटन गर्न तयारीमा लागेका छन् । आफ्नो समर्थक मुख्यमन्त्री अल्पमतमा परेपछि प्रधानमन्त्री ओली प्रदेशसभा विघटनको तयारीमा जुटेका हुन् । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओली समूहका मुख्यमन्त्री चरम अल्पमतमा छन् । ओली समूह बलियो गण्डकी प्रदेशमा मात्रै हो ।

आइतबार संघीय सरकारको प्रतिनिधिसभा विघटन गरेपछि प्रदेशमा आफूनिकट मुख्यमन्त्री अल्पमतमा परेका कारण प्रधानमन्त्री ओलीले प्रदेशसभासमेत विघटन गर्नका लागि परामर्शमा जुटेका छन् । बुधबार साँझ प्रधानमन्त्री ओली आफूनिकट नेतासँग प्रदेशसभा विघटन गर्दा के हुन्छ भनेर फोनमार्फत छलफल गरेको उनीनिकट एक नेताले जानकारी दिए । आफूनिकट मुख्यमन्त्री र मन्त्री संकटमा परेका कारण उनले प्रदेशसभा पनि विघटन गरेर सँगै निवार्चनको घोषणा गर्ने तयारी गरिरहेको ती नेताले बताए ।

‘आजको केन्द्रीय कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् बैठक बोलाएर उक्त निर्णय गर्न तयारी भइसकेको छ । प्रधानमन्त्रीले प्रदेशसभा पनि प्रतिनिधिसभासँगै विघटनका गर्न लाग्नुभएको थियो । तर, विवाद प्रदेश र स्थानीय तहसम्म पुग्छ भनेर उक्त निर्णय रोकिएको थियो,’ उनले भने, ‘हाल राजीनामा दिएका सबै मन्त्रीलाई समेत प्रदेशसभा विघटन हुन्छ भने थाहा छ ।’

प्रतिनिधिसभा विघटन हुँदा प्रधानमन्त्रीले प्रदेशसभा पनि विघटन हुँदैछ भनेर सन्देश दिएका थिए । संविधानले प्रदेशसभा विघटन गरेर राष्ट्रपति शासन लागू गर्न सक्ने व्यवस्था गरेको छ । त्यही व्यवस्थाअनुसार ओलीले प्रदेशसभा विघटन गर्न सक्ने कानुन व्यवसायीको मत छ । संवैधानिक कानुनविज्ञ भीमार्जुन आचार्य संवैधानिकरूपमा प्रदेशसभा विघटन गर्न सक्ने व्यवस्था रहेको बताउँछन् । आचार्य भन्छन्,‘राष्ट्रपतिले प्रदेशसभा विघटन गर्ने व्यवस्था छ, त्यसअनुसार विघटन हुनसक्छ ।’ शिलापत्रबाट