कविताः हामी त फुट्यौ कमरेड

415

-हेमराज ढकाल “सुमन”
हामी त फुट्यौ कमरेड
धुम्बाराही र पेरिसडाडा नजाने गरि
एक अर्काको मुहार नहेर्ने गरि
भुलेर ती समाजवादका सपना
शहिदका रगत र बलिदानहरु
हामी फुट्यौ कमरेड ।

माक्स, माओ र लेलिनका सिद्धान्त
पुप्पलाल, मदन र मनमोहनका बिचार
यी सबैलाई टोकरी हालेर फेरि
दर्शन र सिद्धान्त भन्दापनि हामीलाई
पद, शक्ति अनि पैसा ठूलो भो
त्यसैले त हामी फुट्यौ कमरेड ।

गरिबको झुपडीमा दियो जलाउन
गणतन्त्रलाई बलियो बनाउन
कठै ! हाम्रो नीति भयो बदनाम
खै मेरो भाग भन्दै आफु-आफै लडदै
दुनियाँलाई रमिता देखाएर सधै
हामी त फुट्यौ आज ।

रेल, तेल ग्यास सबैमा भयो झेल
त्यो अमुल्य मतको मर्म नबुझी
गुठबन्दी र भागबन्डाको खेल खेल्दा
मैदानमा आफै पछारीदा पनि हामीलाई
चेतना बुद्धि र विवेक न आउदा कहिल्यै
हामी टुक्राटुक्रा भएर फुट्यौ आज ।
                             -भक्तपुर