देउवालाई दबाब दिने पौडेल समूहको निर्णय

292

पुस ९,
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरूको भेलाले केन्द्रीय समिति नलम्ब्याउन नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यसमिति बैठकअघि अनामनगरमा बसेको पौडेलपक्षको भेलाले संसद् पुनर्स्थापनाको माग गर्दै सडकमा जाने निर्णय तत्काल लिनका लागि सभापति शेरबहादुर देउवालाई दबाब दिने निष्कर्ष निकालेको हो । सभापति देउवापक्षले अदालतको निर्णयपछि मात्रै थप कदम चाल्ने र आन्दोलनभन्दा पनि चुनावतर्फ केन्द्रित हुनुपर्ने माग गरिरहेकाले तत्काल सडकमा जानका लागि संस्थागत निर्णय लिन दबाब दिने तयारी भएको बैठकमा सहभागी एक नेताले बताए ।

‘सभापति देउवा पक्षधरले आन्दोलनभन्दा चुनावको तयारी गर्नुपर्ने माग गरिरहेको छ । हामी तत्काल सडकमा जानुपर्ने पक्षमा छौँ । आफ्नो रणनीति सफल पार्नका लागि केन्द्रीय समिति बैठक तन्काउने कोसिस भएकाले तत्काल निर्णयमा पुग्न दबाब दिने हाम्रो निष्कर्ष छ,’ ती नेताले भने । सभापति देउवाले अदालतको फैसलापछि मात्रै आगामी रणनीति तयार गर्ने मनसाय बनाएपछि केन्द्रीय समिति लम्ब्याइरहेका छन् । एक दिनमा चार जना नेताले बोलेपछि बैठक स्थगित हुने गरेको छ । केन्द्रीय समिति बैठकमा सबैले धारणा राख्ने तयारी गरेका छन् । मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा हालसम्म आठ जनाले धारणा राखेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति ७१ सदस्यीय छ ।