Tuesday, September 29, 2026
Home अर्थ उखुको पैसा नपाएपछि माइतीघरमा फेरी किसानको आन्दोलन

उखुको पैसा नपाएपछि माइतीघरमा फेरी किसानको आन्दोलन

218

मंसिर २८
काठमाडौं । आफ्नो उत्पादनको मोल पाउन पनि पटक पटक आन्दोलन गर्न बाध्य उखु किसानले फेरि काठमाडौंमा आन्दोलन थालेका छन् । पुष महिनाको चिसोको पर्वाह नगरी तराईका विभिन्न जिल्लाबाट आएका उखु किसानले काठमाडौंको माइतीघर मण्डलमा आइतबारदेखि प्रदर्शन थालेका हुन् । आफ्नो उखु लगेका चिनी मिल सञ्चालकबाट बाँकी रकम उठाइदिन उनीहरुले माग गरेका छन् । उनीहरुले मिल मालिकसँग बाँकी रकम उठाइदिने सरकारी बाचा पूरा नगरिएकामा पनि आपत्ति जनाएका छन् ।

उनीहरूले गत वर्षको पुस १६ गते आफूहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै माग पूरा नभए सिंहदरबार र बालुवाटार घेराउ गरिने चेतावनी पनि दिएका छन् । मंसिर २६ गतेसम्ममा किसानका बाँकी बक्यौता सबै चुक्क्ता गर्न गरिएको सम्झौता एक वर्षसम्ममा मिल मालिकले पूरा नगरेकाले आफ्ना पीडा सुनाउन काठमाडौं नै आउनुपरेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रको भनाइ छ । उद्योग मन्त्रीसँग भेटेर आफ्ना समस्या राख्दा सबै पैसा दिलाउने उहाँले गरेको बाचा पनि पूरा नभएको उनीहरुको भनाइ छ ।

चार वटा चिनी मिलले उखु किसानका करोडौं रुपैयाँ तिर्न बाँकी छ । उखु मिलसँग किसानले अझै ५२ करोडभन्दा धेरै रकम लिन बाँकी रहेको जनाइएको छ । सबैभन्दा बढी श्रीराम सुगर मिलसँग २६ करोड, अन्नपूर्ण सुगर मिलसँग १७ करोड, लुम्बिनी सुगर मिलसँग ८ करोड ४१ लाख र इन्दिरा सुगर मिलसँग ४ करोड ७० लाख रुपैयाँ किसानले लिन बाँकी रहेको छ ।