विप्लवलाई शान्तिपूर्ण मार्गमा आउन काँग्रेसको आग्रह

173

मंसिर २५,
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई व्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको छ । बिहीबार बसेको पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठकले प्रतिबन्धित नेकपालाई हत्याहिंसा छाडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको हो । बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मोरङमा गरेको शिक्षक हत्याको विरोध गर्दै हत्यामा संलग्नमाथि कारबाहीकोसमेत माग गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । मंगलबार नेकपाले मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरेको थियो ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा मंसिर २९ गते निर्धारण गरेको सरकारविरुद्धको देशव्यापी विरोध प्रदर्शनलाई प्रधवकारी बनाउने विषयमा छलफल भएको उनको भनाइ छ । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने काँग्रेसको तयारी छ । बैठकले २९ गतेको विरोध प्रदर्शनमा सडकमा आउन आह्वान पनि गरेको छ ।