उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

142

मंसिर १४,
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । त्यो समूहमा कुल १०५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याए । त्यस्तै, ३० प्रतिशत हिस्सा रहेको एशोसियटमा ८९७ सदर मतमध्ये ढकालले ५२२ मत ल्याउँदा प्रधानले ३७५ मत ल्याए । २० प्रतिशत हिस्सा वस्तुगतमा कुल ९८ सदर मतमा ढकालले ५९ र किशोर प्रधानले ३९ मत ल्याए । वरिष्ठ उपाध्यक्षमा विजयी हुन ५० प्रतिशत भन्दा बढी मतभार चाहिन्छ । यसमा ढकालले ५४.२६ मतभार प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी प्रधानले बाँकी रहेको ४५.७४ प्रतिशत मतभार प्राप्त गरे ।

निजी क्षेत्रको छाता सङ्गठन मानिने महासंको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदमा भने मतदान भएन । जसअनुसार शेखर गोल्छा स्वतः अध्यक्ष चयन भएका छन् । वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका थिए । महासङ्घको मतदानका लागि जिल्ला र नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एशोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महास्घको केन्द्रीय कार्यालयमा मतदान गरिएको थियो ।

महासङ्घको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाले उम्मेदवारी दिएका थिए । कार्यकारिणी सदस्यतर्फ यसअघि नै राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका थिए भने वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठ तथा एशोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई निर्वाचित भएका छन् ।
महासंघमा वस्तुगततर्फ १०१, जिल्ला तथा नगरमा १०५ र एशोसिएटतर्फ ९०३ मतदाता रहेका थिए ।