अनुदानको चामल बेच्ने व्यापारी पक्राउ

214
सांकेतिक तस्विर

कार्तिक १८
सुर्खेत । कर्णालीका दुर्गम ठाउँमा पठाउने सरकारी अनुदानको चामल भक्तपुर लैजाने ढुवानीकर्ता पक्राउ परेका छन् । चामलका ढुवानीकर्ता वासुदेव शर्मालाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । कम्पनीको वीरेन्द्रनगरस्थित गोदामबाट शर्माले मुगुका लागि भनेर गत साता चामल उठाएका थिए । तर, उक्त चामल मुगु नपठाई उनले भक्तपुरका लागि पठाएपछि प्रहरीले वीरेन्द्रनगरको सुब्बाकुना नाकाबाट ना६ख ५७२१ नम्बरको ट्रकसहित चामल नियन्त्रणमा लिएको थियो ।

वीरेन्द्रगरको दुर्गाभगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाइ कर्णालीका लागि अनुदानमा आएको २५० क्विन्टल चामल पठाएको थियो । दुर्गाभगवती सप्लायर्स शर्मा स्वामित्वको र्फम हो । प्रहरीले चामल नियन्त्रणमा लिएलगतै बयानका लागि बोलाए पनि शर्मा प्रहरी कार्यालय गएका थिएनन् । तर, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले फरार हुनुभन्दा अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न सन्देश पठाएपछि शर्मा मंगलबार जिल्ला प्रहरी कार्यालय आइपुगेको डीएसपी घर्तीले बताए ।