एउटै पोखरीमा २९ बाँदरको रहस्यमय मृत्यु

183

कार्तिक १,
ओखलढुंगामा । एउटै पोखरीमा डुबेर थप २९ वटा बाँदर डुबेर मरेका छन् । सिद्धिचरण नगरपालिका–५ सानीटारमा शनिबार थप ७ वटा बाँदर मरेको स्थानीयले बताएका हुन् । यसअघि शुक्रबार सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर २२ वटा बाँदर मरेको थियो । शुक्रबार डुबेकामध्ये १२ वटालाई भने स्थानीयले जिवितै उद्धार गरेको भएपनि शनिबार थप सातवटा मरेको स्थानीयले बताए ।

योसँगै दुई दिनको अवधिमा २९ वटा बाँदर मरेका छन् । स्थानीय देवकुमार दाहालका अनुसार बाँदर दैनिक पानीमा डुबेर मर्न थालेपछि पोखरीको पानी खोलेर खाली गरिएको छ । नियमित पानी खान आउने बाँदर पोखरीमा पसेपछि निस्कन नसकेको हुनसक्ने भन्दै पोखरीमा काठको भ¥याङ समेत राखिदिइएको छ । पोखरीमा पानी खान आउन बाँदरलाई सहजताका लागी भ¥याङ निर्माण गरिदिएको डिभिज प्रमुख श्रेष्ठको भनाई छ ।

यस्तो घटना यसअघि अन्य जिल्लामा सुने पनि यसबारे बृहत अध्ययन नभएकाले कारण कारण खुल्न सकेको छैन । तर केही स्थानीयले भने बाँदरले बाह्रै महिना दुःख दिने स्थान भएकाले कसैले पानी खाने ठाउँ पहिचान गरेर विष हालेको हुन सक्ने आशंका गरेका छन् । सिँचाइका लागि निर्माण गरिएको ६ फिट गहिरो सिमेन्टको पोखरीमा अन्य समयमा पनि बाँदरले पानी खाने गरेका थिए । पनी पिउने क्रममा बाँदरका बच्चा पोखरीमा खसेको र उद्धारका लागी अरु बाँदरसमेत पसेकाले निस्कन नसकेर मरेको हुनसक्ने वन डिभिजन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठको अनुमान छ । बाँदरको सामुहिक मृत्यु भएपछि वडाका जनप्रतिनिधि, वन डिभिजन कार्यालयका कर्मचारी र स्थानीयको रोहबरमा मुचुल्का उठाएर सद्गत समेत गरिएको छ । शनिबार समेत बाँदर मरेपछि वन डिभिजन कार्यालयका अधिकृतसहितको टोली घटनास्थलमा पुगेको छ ।