Wednesday, September 23, 2026
Home साहित्य कविताः दशैं

कविताः दशैं

304

-विदुरप्रसाद तिमिल्सिना

शारदीय घामले सौन्दर्य छरेर
वासन्ती दिनको आगमनसङ्गै
भित्रियो आज दशैं यसपालिकोस
मनमा नहुँदा समेत कुनै उमङ्ग
जताततै महामारीले पार्दा आक्रान्त
काले,गोरे हर्केको महङ्गो दसैँलाई
ठालुको पञ्जाबाट चिर्न यो साल
अनि अर्को अनि हो अर्को साल
विदेशी बन्न बाध्य यो कस्तो हाल !

मनमा छैन् शान्तिको कुनै रङ
हुन् सक्ला र मनमा मीठो उमङ्ग
काम र मामको खोजी गर्दागर्दै
विदेशी भूमिमा श्रम बेच्नेहरू
श्रम गुमेपछि देश फिर्नेहरू
फिर्ने प्रतिक्षामा ती बस्ने हेर्दा
कसरी मनाउन सकिएला र बाबै
उत्सव विजयाको भन्दै दशैं !

सकुनीका प्रतिछायामा दुर्योधनहरू
राज्य दोहनमा लम्केको देख्दा
आचार्यहरूको मौनताले आफैँलाई
कता कता गिजोलेको देख्दा
विजयाको प्रतीक दशैं त
हार खाइ कतै हराउने त होइन ?
होस् मनमा जस्तोसुकै विचार
खोजौँ दशैं शुभ बनाउने आधार
पहेँला जमरा उमारेर टन्न
विजयको टीकामा हटाइ अधन
सुन्दरतम जीवन बिताउन अब
च्यातिनु पर्छ यहाँ सकुनी पासा
अनि हट्छ दुःख सबै भन्ने आशा !

बिलाओस् सबै अन्धकारको बाटो
खुलोस् प्रगतिपथको पाटो
हटोस् सबै प्रकारका सङ्क्रमण
बनोस् दशैं दिव्य यसपालिको
बनोस् दशैं दिव्य यसपालिको । ।

कमलबिनायक, भक्तपुर ।