भक्तपुरमा ग्यास सिलिण्डर त कतै कम्प्युटर चोरी, तीन जना पक्राउ

216

नयाँ नेपाल न्युज
फागुन १७,
भक्तपुर । केही समययता भक्तपुरमा चोरीको घटनामा वृद्धि हुन थालेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले भक्तपुर नगरपालिका वडा नम्बर ९ कमलबिनायक स्थित प्लानिङको छेउमा शंकास्पद १० थान सिलिण्डर चोरी गरी लुकाई छिपाई रहेको अवस्थामा बरामद गरको छ ।
प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले कमलबिनायकका बिश्वराम लवजुको जाहेरीको आधारमा दुई जनालाई पक्राउ गरेको परिसर भक्तपुरका प्रवक्ता डिएसपी कृष्ण प्रसाइले जानकारी दिएका छन् ।
उक्त जाहेरीको आधारमा रोल्पा घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका ४ बस्ने बर्ष १८ को कमान घर्ती मगर र सोही स्थान बस्ने बर्ष १९ को घनश्याम बुढामगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले यसैगरि भक्तपुर नगरपालिका वडा नम्बर ९ अमर ज्योती मन्टेश्वश्री स्कुलबाट कम्प्युटरको सिपियू चोरी भएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले खोजतलास काभ्रे च्याम्राङबेसी गाविस वडा नं. ३ स्थायी घर भई हाल भक्तपुर सोही स्थानमा डेरा गरी बस्ने बर्ष ४० को बल बहादुर योञ्जनको डेरा कोठामा लुकाई रहेको अवस्थामा फेला परेको सिपियू फेला पारेको हो ।
योञ्जनलाई पक्राउ गरी आवश्य क कारवाहीको लागी महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा पठाईएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

फरार प्रतिबादी पक्राउ
बैदेशिक रोजगार कसुर मुद्दामा बैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७२ मंसिर ७ गतेको फैसला बमोजिम ३ बर्ष कैद र रु. ३,००,००० (तीन लाख) जरिवाना हुने ठहरी फैसला भएका फरार प्रतिबादी भक्तपुर जिल्ला चागुँनारायण न.पा. ६ नगरकोट स्थित बस्ने बर्ष ३७ को मनहरी मगरलाई प्रहरी परिसरले पक्राउ गरेको छ । मगरलाई जिल्ला अदालत भक्तपुरको आदेश अनुसार कारागार कार्यालय डिल्लीबजार काठमाडौ चलान गरिएको प्रवक्ता डिएसपी प्रसाइले बताए ।