सूर्यविनायक नगरपालिकाको अनन्तलिङ्गमा ‘सामुदायिक होमस्टे’ सुरु

असोज २१,
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटको अनन्तलिङ्गमा सामुदायीक होमस्टे सुरु भएको छ । मंगलबार एक कार्यक्रमका बीच सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले होमस्टेको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले होमस्टेबाट पर्यटन प्रर्वद्धन गर्ने सकेमा यस क्षेत्रको आर्थिक विकाशमा टेवा पुग्ने बताए । कला संस्कृतिको संरक्षण गर्दै आवश्यक पूर्वाधारको समेत बनाएर होमस्टे संचालन हुदाँ धेैरैलाई फाइदा पुग्छ, नगर प्रमुख थापाले भने ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख जुना बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरकी उपप्रमुख सरिता कुँवर, वडाअध्यक्ष उत्तम थापालगायतले सामुदायिक होमस्टेले रोजगारीको सिर्जना हुनुका साथै आर्थिक विकाश हुने बताए ।

हाल ७ वटा घरमा पाहुना राख्ने गरेर होमस्टे संचालन भएको र निकट भविष्यमा नै ११ वटा घरमा पाहुना राख्न सकिने अनन्तलिङ्ग सामुदायीक होमस्टेका सचिव कमल न्यौपानेले बताए ।पाहुनालाई अनन्तलिङ्गको डाँडामा रहेको सामुदायीक होमस्टे (घरबास)मा आउदाँ मकै, भटमास, मोही र गुन्द्रकले स्वागत हुनेछ । स्थानीय क्षेत्रमा उत्पादन भएका तरकारी र खाद्य सामाग्रीको प्रयोग गर्दै होमस्टे संचालनमा आएको छ ।

बेलुकाको खाना, बसाई र बिहानको नास्ता गरेर १ हजार ३ सय रुपैयामा गाउँले परिवेश भएको सुन्दर रमणिय स्थल अनन्तलिङ्गमा पर्यटकहरुले रमाउन पाउने छन् । त्यस क्षेत्रबाट काठमाडौं उपत्यका, सुन्दर हिमालय दृश्य, अनन्तलिङ्गश्वर मन्दिरको दर्शन गर्न सकिने छ । अरनिको राजमार्गबाट केही मिनेटको दूरीमा नै गन्तव्यमा पुग्न सकिन्छ ।