कोरोना कारण देखाउँदै नाकामा चीनको अवरोध

523

असोज १०
काठमाडौं । कोभिड-१९ कारण देखाउदैं चीन नाकामा कडाई गरेपछि नेपालको बजारमा समानको अभाव हुन थालेको छ । चीनले रोकावट गरेकाले केरुङ नाकाबाट सामान ल्याउन नसक्दा अभाव भएको छ ।
रोकथाम तथा नियन्त्रणका लागि लामो समय ‘लकडाउन’ र निषेधाज्ञा जारी हुँदा व्यापार/व्यवसाय पनि ठप्प भयो । पछिल्लो एक महिनायता बजार खुलेपनि उपभोग्य सामग्री पर्याप्त नहुँदा व्यापार शून्य रहेको व्यवसायीले बताएका छन् ।

गत बुधबारबाट उत्तरी नाका केरुङ खुलेपनि चिनियाँ पक्षले कोभिडको कारण देखाउँदा सामान आयात सहज हुनसकेको छैन । मुख्य व्यापारिक नाका तातोपानी नाका पनि लामो समयदेखि बन्द रहँदै आएको छ । व्यापारको मुख्य सिजन चाडपर्व नजिकिँदै गर्दापनि कोभिड-१९ संक्रमण जोखिमका कारण चीनतर्फको केरुङ नाकाबाट कुनैपनि सामग्री भित्रिन सकेको छैन । जसको असर काठमाडौंलगायत देशका ठूला बजारमा पर्ने देखिएको छ । व्यापारी पनि बजारमा सामान नभएका कारण व्यापार नै हुन नसकेको बताउँछन् ।
खासगरी लत्ताकपडा चीनतर्फबाट सबैभन्दा धेरै आयात हुने गरेको छ । यो वर्ष आयातमा समस्याका कारण जाडो ‘सिजन’को कपडा पनि अभाव हुनसक्ने व्यवसायी बताउँछन् । यो वर्ष व्यवसायीलाई आफ्नो लगानीको सुरक्षाको चिन्ताले सताउन थालेको छ । केरुङ नाकामा आएका एक हजार बढी कन्टेनर पनि रोकिएका छन् । त्यसको असर नेपाली बजारमा देखिएको छ ।