सेनाले कालापानी जाने बाटोको ट्र्याक खोल्यो

378

असोज १०,
दार्चुला । नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम सुरु गरेको सेनाले ५५० मिटर बाटोको ट्र्याक खुलाएको हो ।
भारतले सडक निर्माणकाक्रममा घाँटीबगर क्षेत्रमा बाटो अवरुद्ध हुँदा व्यास गाउँपालिकाको वडा नम्बर-१, छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या भएपछि सेनाले बाटो खोल्ने जिम्मा पाएको थियो । चार महिना बढी समय लगाएर सेनाले अप्ठ्यारो ठाउँमा बाटोको ट्र्याक खुलाएको हो ।

मौसम प्रतिकूल नहुनु, कडा चट्टानी भूगोल र सामान ढुवानीमै समय लागेका कारण ट्र्याक खुलाउने काम ढिलाइ भएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले बताउनुभयो ।
यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज भएको छ । चट्टानी भूगोलले केही ढिलाइ भएपनि स्थानीयका लागि सहजरुपमा आवतजावत गर्न मिल्नेगरी बाटो निर्माण भएको व्यास–२ का बासिन्दा हरकसिंह कार्कीले बताउनुभयो । घाँटीबगरमा सेनाले बनाएको बाटोमा ट्र्याक राम्रो खुलेको र त्योबाहेकका अन्य चार/पाँच ठाउँमा पुनः बाटो अवरुद्ध भएको उहाँले बताउनुभयो ।

घाँटीबगरमा सेना बसेको क्याम्पको तल ठूलो पहिरो गएको छ । त्यो क्षेत्रमा पनि आवतजावत गर्न निकै सास्ती भएको व्यासको तिंकर पुगेर खलंगा फर्किनुभएका कार्कीले जानकारी दिनुभयो । तलतिरको बाटो नखुलाएसम्म अहिले नै व्यासी कुञ्चा सर्न सक्दैनन् । तम्बाकुमा व्यास गाउँपालिकाको बजेटमार्फत् बाटो खुलाउने काम भएपनि कडा चट्टानी भाग भएका कारण खुल्ने सम्भावना छैन ।

यो क्षेत्रमा अहिलेपनि तारको सहारामा चट्टानी भूभागमार्फत् नदी पार गर्नुपर्ने उहाँको भनाइ छ ।
यस्तै, तम्बाकुनजिकको नयाँ निर्माण गरिएको बाटो सबै भत्किएको छ । कल्जुगाडमा झोलुंगेपुल बगाएको छ भने कल्जगाडभन्दा तल र माथि बाटो भत्किएको छ । सबै ठाउँमा बाटो निर्माण गर्नसकेमात्र सहजरुपमा व्याससम्मको बाटो खुल्ने उहाँले बताउनुभयो । तम्बाकुभन्दा तलतिर बाटो नहुँदा व्यासबाट फर्किने भेडा व्यवसायी अहिले बुदिमै रोकिएका छन् । व्यासको छांगरु र तिंकरका बासिन्दा कात्तिक महिनामा सदरमुकाम खलंगा कुञ्चा झर्ने गर्छन् । व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ ।