हिसाबकिताब खाजेपछि विद्यालय आउनै छाडे प्रधानाध्यापक

150

असोज १,
सिरहा । श्री जनता नमूना माध्यमिक विद्यालय (प्राविधिक घार) सखुवानन्कारकट्टी–१ मौवाहीमा व्यापक अनियमितता भएको गुनासो अभिभावकहरुले गरेका छन् । विद्यालयका प्रधानाध्यापक रामप्रित यादवले विद्यालयको पूर्वाधार निर्माण तथा शैक्षिक सामग्री खरिदमा अनियमितता गरेको विद्यालय व्यवस्थापन समितिसहित अभिभावकहरुको आरोप छ । नमूना विद्यालयको लागि पूर्वाधार निर्माण तथा शैक्षिक सामग्री व्यवस्थापन शीर्षकमा आव ०७५र७६ मा छुट्याइएको एक करोड ५० लाख रुपैयाँमा व्यापक अनियमितता भएको स्थानीयको आरोप छ । सो रकमध्ये ९७ लाख रुपैयाँको चार कोठे भवन निर्माण गर्ने भनिए पनि अझै पुरा नभएको विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य समेत रहेका बालेश्वर यादवले जानकारी दिए ।

बाँकी रकम शैक्षिक सामग्री खरिदका लागि दिएको भनिए पनि कुनै सामग्री खरिद नगरी रकम निकासा गरेको उनले सुनाए । व्यवस्थापन समिति र अभिभावकलाई जानकारी नै नगराई काम गरेपछि स्थानीयले सोधखोज सुरु गरेका थिए । सोधखोजपछि विद्यालयमा व्यापक अनियमितता भएको खुलेको स्थानीयको भनाइ छ । -रातोपाटी