Thursday, September 24, 2026
Home पत्रपत्रिका आफूले खनेको खाल्डो आफैँ पुरेर, अन्ततः पछि हट्यो भारतीय एसएसबी

आफूले खनेको खाल्डो आफैँ पुरेर, अन्ततः पछि हट्यो भारतीय एसएसबी

430

नेपाल समाचारपत्र
साउन ८, इलाम । नेपाल भारत सीमावर्ती इलाम सूर्योदयनगरपालिका पशुपतिनगर स्थित चारमाइल सडकको अवरोध हटेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उक्त सडकमा खाल्डो खनेर आउजाउ गर्न नै अवरोध गरेको थियो । तर मंगलबार सूर्योदय नगरपालिकाका जनप्रतिनिधि, पशुपतिनगरस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयलगायतको पहलमा एसएसबीले आफैले खाल्डो पुरेर अबरोध हटाएको हो ।

नगरपालिकाका मेयर आरबि राईले सो क्षेत्रको अनुगमन पश्चात एसएसबीलाई अबरोध हटाउन अनुरोध गर्नुभएको थियो । एसएसबीले अबरोध गरेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी पशुपतिनगर इकाईसँग भारतका एसएसबी इकाईले वार्ता गरेपछि सडक खुलाउन एसएसबी तयार भएको थियो । नेपाल भएर भारततिर छिर्ने चारमाइलको वर्षौं पुरानो कच्ची सडकमा खाडल खनेर एसएसबीले आउ–जाउ अवरोध गरेको थियो । नेपालतर्फको तरकारी भारत लैजान रोक्नेगरी सडकको दशगजामा खाडल खनेर अवरोध गरेको थियो ।

नेपालमा उत्पादित ठूलो परिमाणको तरकारी पशुपतिनगरबाट भारत जान्छ । एसएसबीले ‘माथिको आदेश’ भन्दै सडकमा खाल्डो खनेर अबरोध गरेको थियो । तत्काल सीमामा सडक खन्ने वा अवरोध गर्ने कामले विवाद बढाउने, तिक्तता सिर्जना गर्ने दुवै पक्ष सहमत भएपछि एसएसबीले सडक अवरोध खुलाउन तयार भएको पशुपतिनगरस्थित सशस्त्र प्रहरी इन्स्पेक्टर सशांकजंग कार्कीले बताउनुभयो । भारतीय सीमा सुरक्षा बलले पूर्वी सीमा क्षेत्रका नेपालीमाथि अनावश्यक दुःख दिने गरेको छ ।

सीमा क्षेत्रको नेपाली भूमिमा सडक, घर, चर्पी बनाउन समेत अबरोध गर्ने गरेको छ । एसएसबीले दसगजा जहाँ पर्छ, त्यहीं खाडल खनेर बाटो बन्द गराएको थियो । इलामको पूर्वी साढे ५२ किलोमिटर भूभाग भारतसँग जोडिएको छ । सीमास्तम्भ नभएको, भएपनि लामो दूरीमा मात्र भएकाले सीमा नै कहाँ हो भन्ने पत्ता लगाउन समस्या छ । केहि महिना अघि एसएसबीले सन्दकपुर गाउँपालिका–५ जमुनाको गैरीबास–कालपोखरी ट्रेकिङ रुट निर्माणको काम समेत अबरोध गरेको थियो ।