नेपालले नाप्यो सगरमाथाको उचाइ

249

भदौ ६,
काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ । हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो । सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले उचाइ नाप्ने काम सकिएको जानकारी दिए । ‘उचाइ घोषणाका लागि चीनसँग समन्वय भइरहेको छ’, सहसचिव डंगोलले भने । चीनसँग संयुक्त रूपमा उचाइ घोषणा गरिने उनको भनाइ छ । उनले नयाँ उचाइ कति भनेर खुलाएनन् ।

नापी विभागले असार मसान्तभित्र अन्तर्राष्ट्रिय कार्यशाला गरी उचाइ घोषणा गर्ने तयारी गरेको थियो । तर, लकडाउनका कारण तथ्यांक प्रशोधन प्रभावित भयो । अब भने प्रशोधनसहित सम्पूर्ण काम सकिएको संयोजक डंगोलको भनाइ छ । ‘लकडाउनका सुरुआती दिनमा काम केही प्रभावित भयो तर अहिले सकेका छौ’, उनले भने, ‘चीनसँग संयुक्त रूपमा घोषणा गर्ने सहमतिले गर्दा केही समय लेला ।’ चीनका तर्फबाट पनि मापनको काम भइरहेको उनले बताए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा दुवै देशका राष्ट्रप्रमुखको संयुक्त वक्तव्यमा सगरमाथाको उचाइ घोषणा संयुक्त रूपमा गर्ने उल्लेख थियो । चिनियाँ राष्ट्रपति चिनफिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको संयुक्त वक्तव्य सन् २०१९ अक्टोबर १३ मा आएको थियो । वक्तव्यको बुँदा नम्बर ८ मा लेखिएको छ, ‘सगरमाथा÷चोमोलङमा नेपाल र चीनको मित्रताको प्रतीक हो भन्ने मान्यतालाई स्वीकार गर्दै दुवै पक्षले जलवायु परिवर्तनलाई सम्बोधन गर्ने र वातावरण संरक्षणलगायत विभिन्न क्षेत्रमा सहयोग बढावा दिनेछन् । संयुक्त रूपमा सगरमाथा÷ चोमोलङमाको उचाइ घोषणा गर्नेछ र वैज्ञानिक अनुसन्धान गर्नेछ ।’

डंगोलका अनुसार सन् २०१८ फेब्रुअरीमा सगरमाथाको उचाइ मापनको फिल्ड वर्क सुरु भएको थियो । उक्त काम डिसेम्बरमा सकिएको थियो । प्रमुख नापी अधिकृत खेमलाल गौतम र नापी अधिकृत रविन कार्कीले २०१९ मे २२ मा सगरमाथाको उचाइ पुगेर जीएनएसएस सर्वेक्षण गरेका थिए । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल आधार शिविरसम्म पुगेकी थिइन् ।

डंगोलका अनुसार सगरमाथा उचाइ मापन गर्न जियोइड प्रतिपादन भूआकर्षण बिन्दु आवश्यक पर्छ । सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुंगाका विभिन्न स्थानमा गरी ४८ बिन्दुको मोनुमेन्टसन गरिएको छ । १०२ बिन्दुमा जीएनएसएस सर्भेक्षण गरिएको छ । सिरहाको मदारबाट सोलुखुम्बुको पतालेसम्म ४९ बिन्दुको लेभलिङ रुटमा जीएनएसएस सर्भेक्षण भएको छ । आजको अन्नपूर्णपोष्ट दैनिकबाट