दुबई एयरपोर्टमा नेपाली अलपत्र, जहाज रित्तै फर्कियो

88

भदौ २,
युएई – अन्तिम समयमा उडान रद्द हुँदा दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका छन्। आज बिहान ३ः५५ बजे दुवईबाट काठमाडौं लागि हुने भनिएको नेपाल एयरलाइन्सको उडान नम्बर आरए–२२९२ रद्द भएपछि एयरपोर्ट पुगेका दर्जनौं नेपाली यात्रुहरु अलपत्र परेका हुन्। उनीहरु ५ घण्टा अघिनै एयरपोर्ट पुगेका थिए। होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गरिदिन सीसीएमसीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखे लगतै तय भएका उद्धार उडानहरु स्थगित गरिएको हो ।

उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै सीसीएमसीले नै मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेको हो । नेपालमा बढ्दो कोरोना संक्रमणको अवस्थाले गर्दा बिभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने बड्दो क्रम र होटल क्वारेण्टिनका लागि होटल व्यबस्था भएको जानकारी प्राप्त नभएको अवस्थामा होटल, क्वारेण्टिन सुनिश्चितता हुने गरी मात्र उडान स्वीकृति दिन भन्दै कोभिड–१९ संकट व्यवस्थापन संचालक केन्द्र ९सीसीएमसी० ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखेको थियो।

तर, अन्तिम अवस्थामा भएको सरकारी निर्णयले स्वदेश फर्कन लागेका नेपाली नागरिकहरुले सास्ती व्यहोर्नु परेको छ।दुबई एयरपोर्टबाट एक सय ७० किलो मिटर टाढा युएईको राजधानी आबुधावीबाट एयरपोर्ट आएका यात्रुहरुलाई सम्बन्धित एयरलाइन्स टिकट बिक्रेता र एजेन्सीले अन्तिम अवस्थामा उडान तालिका रद्द भएको जानकारी नगराएकोले उनीहरु बिचल्ली परेका हुन्। -ratopati