सुडानमा नेपाली अलपत्र, सुरक्षित उद्धारको प्रयास हुने

272

काठमाडौं । सुडानमा अलपत्र नेपाली नागरिकको सुरक्षित रुपमा उद्धार प्रयास भइरहेको नेपालस्थित परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिकहरु नेपाली राजदूतावास कायरोसँग सम्पर्कमा रहेको भन्दै मन्त्रालयले सबै नेपालीहरुलाई नेपाल फिर्ता गर्न सहजीकरण भइरहेको जनाएको हो ।

मन्त्रालयका अनुसार सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको छ । कायरोस्थित नेपाली राजदूतावासको अनुरोध बमोजिम पोर्ट सुडानमा पुगेका १९ जना नेपालीहरु साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा शहरमा सुरक्षित तवरले सकुशल पुगेका छन् । यसअघि नै एक जना नेपाली सकुशल जेद्दा पुगेका थिए । जेद्दा पुगेका सबै नेपालीहरुको नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपाली राजदूतावास, कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जना नेपालीहरुमध्ये पाँच जना पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेका छन् । एक जनालाई खार्तुमबाट पोर्ट सुडान पुर्याउने प्रयास भइरहेको छ । तीनजना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेको मन्त्रालयले जनाएको छ । दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सिमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाएको राजदूतावासले जानकारी गराएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुडानमा अझै पनि सुरक्षा अवस्था असहज रहेको भन्दै मन्त्रालयले सुडानमा रहेका सबै नेपाली नागरिकहरुलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल नगर्न तथा आपतकालिन अवस्थामा कायरोस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । कायरोस्थित नेपाली राजदूतावासका द्वितीय सचिव दीपक घिमिरेलाई मोबाइल/ह्वाट्स एप नम्बर +201097772348, +201029606662 र  eoncairo@mofa.gov.np मा इमेल गर्न सकिने मन्त्रालयले जनाएको छ ।