मण्डनदेउपुरमा पहिरोः वडा नम्बर १ का किसानले दुध बेच्न पाएनन्

483

-उपेन्द्र बस्ताकोटी
साउन ६, काभ्रे । केहि दिन यता लगातार परेको झरीका कारण मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १को केही केही स्थानमा गएको पहिरोसंगै सडक अवरुद्ध भएको छ । कातिकेबाट हलेदे तर्फ जाने सडकको चालिम थुक्का भन्ने स्थानमा पहिरो गएपछि गाउँबाट उत्पादन हुने दुध समेत संकलन हुन नसकेको स्थानीयहरुको भनाई छ । हजारौं लिटर दुध बिक्रि गर्न नपाएपछि किसानहरु मर्कामा परेका हुन् ।

त्यसैगरि हलेदेको बस्ताकोटी टोलमा पहिरोका कारण ७ घर जोखिममा परेकाले उनीहरुलाई अन्यत्र सारिएको छ । सडकको डिल भासिएर पहिरो जादाँ गाडिएको विद्युलपोल ढलेको कारण विद्युत सेवा अवरुद्ध भएको छ । पोल ढलेको कारण चुरिथुम्का, गिरधेरेका करिब २ सय भन्दा धेरै घरमा प्रशारण हुदैं आएको विद्युत लाइन बन्द भएको हो । उक्त नगरपालिको विभिन्न स्थानमा गएको पहिरोसंगै ग्रामिण सडकहरु अवरुद्ध भएका छन् । त्यसैका कारणले गर्दा सर्वसाधरणहरुले उत्पादन गरेका दुध र तरकारी बजार लान समस्या भएको छ ।