७ दिनसम्म आउँदैन कोरोनाको रिपोर्ट

360

भदौ १०,
हेटौंडा । प्रदेश नम्बर ३ को अस्थायी राजधानी हो, मकवानपुरको हेटौडा । तर प्रदेशकै राजधानी रहेको हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा कोरोना परीक्षणमा चरम लापरवाही भएको सर्वसाधारणले गुनासो गरेका छन् । प्रयोगशालाले७ दिनसम्म पनि रिपोर्ट नदिँदा मानसिक पीडा खेप्न बाध्य भएको उनीहरुको भनाइ छ । प्रयोगशालाले भदौ ४ गतेपछिको रिपोर्ट एक साता बित्दा पनि नआएको स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । उनीहरुका अनुसार हेटौँडामा भदौ २ पछिमात्रै कोरोनाको आशंकामा स्वाब संकलन गराएका करिब १५ सय सर्वसाधारण नागरिक होम आइसोलेसनमा बसेर दैनिक रिपोर्टको प्रतीक्षा गरिरहेका छन् ।

’एक सातादेखि अपराधी जसरी लुकेर बस्नुपरेको छ । रिपोर्ट कहिल्यै आउदैन’, कन्ट्याक ट्रेसिङमा परी भदौ ४ गते स्वाब दिएका मकवानपुरगढी गाउँपालिकाका ७ का वडाध्यक्ष सुर्यबहादुर रुम्वाको गुनासो छ । ’रिपोर्ट नआई बाहिर जान नैतिकताले दिँंदैन, नजाउँ जनताले यो विपत्तिमा वडाअध्यक्ष नै लुकेर बस्यो भन्छन् । मानसिक पीडा त छँदै छ त्यसमाथि नजरवन्दमा बस्नुपर्दा समस्यामाथि समस्या थपियो’, रुम्वाको भनाइ छ । ७ दिनसम्म रिपोर्ट दिन नसक्नुमा सरकारको गैरजिम्मेवारीपनाको पराकाष्टा भएको पनि उनले बताए ।

जनतालाई थुनेर सरकारका मुख्यमन्त्रीदेखि विभागीय मन्त्री आफ्नो दुनो सोझाउने ध्यानमा लागेको उनको गुनासो छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता एव्म वरिष्ठ स्वास्थ्य प्रशासक पुरुषोत्तम सेढाईंले रिपोर्ट आउन ढिला भएको स्वीकार गरे ।