‘प्रधानमन्त्रीको ५५ लाख डलर छ भन्ने समाचार भ्रामक र गलत’

95
फाइल तस्बिर

असार ३१,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकममा ५५ लाख अमेरिकी डलर छ भन्ने समाचार कपोकल्पित र भ्रामक रहेको स्पष्ट पारिएको छ । बुधबार प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीको चरित्रहत्या गर्ने किसिमका यस्ता समाचार भ्रामक र गलत भएको बताउनुभएको छ ।

‘ग्लोबल वाच एनालाइसिस’ को हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्प्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्रीलाई बदनाम गर्ने किसिमले बनाइएको यस्ता समाचार खेदजनक भएको उल्लेख छ । विज्ञप्तिमा यस्ता भ्रमपूर्ण समाचार नपत्याउन पनि सम्पूर्ण जनतामा आग्रह गरिएको छ । पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न पनि माग गरिएको छ ।

प्रेस वक्तव्य
“ग्लाेबल वाच एनालाइसिस”काे हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेकाे अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएकाे छ । स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेकाे वा यस्तै व्यहाेराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपाेलकल्पित रहेकाे स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूकाे रवैया खेदजनक छ ।

राष्ट्रिय हितकाे रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनकाे साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशाेधनजस्ताे महत्वपूर्ण निर्णयमा सिंगाे राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रकाे नेतृत्व सम्हालिरहनु भएकाे निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियाेजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेकाे प्रष्ट नै छ ।

आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारकाे भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताकाे न्यूनतम जवाफदेहिता, जिम्मेवारीबाेध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।

सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
३१ असार २०७७