शान्ति मिसन जाने ११२४ सैनिक क्वारेन्टाइनमा

209

असार १२,
काठमाडौं । जंगीअड्डाले राष्ट्रसंघीय शान्ति मिसनमा जान लागेका ११ सय २४ फौजलाई क्वारेन्टाइनमा राखेको छ। दक्षिणी सुडान, कार, माली र लिबिया जान लागेको फौजलाई काभ्रेको पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा राखिएको नेपाली सेनाले जनाएको छ।

संयुक्त राष्ट्रसंघले कोरोना संक्रमण जोखिमका कारण फागुन अन्तिम साता दक्षिणी सुडान उड्न लागेका नेपाली शान्ति सेनालाई रोकेको थियो। त्यसपछि कुनै पनि मिसनमा नेपाली सैनिक फौज गएको थिएन। पुनः लैजाने भनेपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको हो। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले मिसनमा जाने फौजलाई सम्पूर्ण स्वास्थ्य परीक्षणपछि मात्र पठाइने बताए। ‘मेडिकल रिपोर्टसहित फौजलाई शान्ति मिसनमा पठाउछौं’, उनले अन्नपूर्णसँग भने।

आजको अन्नपूर्ण पोष्ट दैनिक लेख्छ, उनीहरूमा कोरोना संक्रमण रहे÷नरहेको परीक्षण गरिनेछ। राष्ट्रसंघले शान्ति सैनिक लैजान यसपटक विमान पठाउने छैन। जंगीअड्डाले विमान व्यवस्थापन गरी सम्बन्धित मुलुक पठाउनुपर्नेछ। त्यसका लागि जंगीअड्डाले टेन्डर आह्वान गर्नेछ। त्यसपछि मात्र कुन विमान कम्पनीबाट उनीहरूलाई लैजाने टुंगो लाग्नेछ।

छनोट भए पनि कोरोना जोखिमका कारण सैनिक अधिकारी मिसन जानबाट वञ्चित भएका थिए। विश्वभर कोरोना फैलिएपछि राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन फागुन तेस्रो साता जंगीअड्डालाई पत्र पठाएको थियो। नेपालबाट फौज जान नपाएपछि पुरानै टोलीले सम्बन्धित मुलुकमा शान्ति सेनाका रूपमा काम गरिरहेका छन्। दक्षिणी सुडान, कार, माली र लिबियामा नेपाली सैनिक अधिकारीको फरेबदल हुन पाएको थिएन। दक्षिणी सुडानका लागि पहिलो फ्लाइट असार १७ गते काठमाडौंबाट उड्नेछ। त्यसतर्फ जान ७ सय सैनिक तयारी अवस्थामा छन्।

पहिलो टोली दक्षिणी सुडान पुगेपछि त्यहाँ रहेका सैनिक अधिकारी फर्कनेछन्। कार र मालीको फ्लाइट असार २३ गते हुनेछ। कारका लागि ५६ र मालीका लागि १ सय ३८ जना मिसन जान तयारी अवस्थामा छन्। लिबिया जाने २ सय ३० जनाको टोली असार ३१ गते प्रस्थान गर्नेछ।