Thursday, September 24, 2026
Home पत्रपत्रिका नर्सिङ सम्बन्धनमा चलखेल

नर्सिङ सम्बन्धनमा चलखेल

61

नेपाल समाचारपत्र
असोज ५, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ८ वर्षदेखि सम्बन्धन लिन निवेदन दिएका २० नर्सिङ र बाँकी अन्य विषयका गरी २८ निजी कलेजलाई सम्बन्धन दिने तयारी गर्नुभएको छ। मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्र मिचेर ती कलेजलाई सम्बन्धन दिने तयारी गर्नुभएको हो। आयोगले पूर्णता पाएपछि तत्काल सम्बन्धन दिन कठिन हुने देखिएपछि मन्त्री पोखरेलले अधिकांश मापदण्ड पूरा नगरेका कलेजलाई सम्बन्धन दिन लाग्नुभएको हो। विसं २०६९ सालदेखि सम्बन्धनको प्रक्रियामा रहेका ती कलेजलाई मन्त्री पोखरेलको निर्देशनमा मन्त्रालयको उच्च शिक्षा तथा प्राविधिक महाशाखामार्फत पत्र पठाएर अनुगमन गर्न पत्र दिनुभएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभी)का अध्यक्ष रहनुभएका मन्त्री पोखरेलले सीटीईभीटीमार्फत अनुगमन गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै गलत प्रक्रियाबाट अनुगमन गरी सम्बन्धन दिने तयारी गर्नुभएको छ।

मन्त्री पोखरेलले परिषद्लाई जानकारी नदिई गोप्यरूपमा सम्बन्धन लिने तयारी गरी त्यस्ता कलेजलाई मन्त्रालयबाट सीधै पत्र पठाइएको छ। मन्त्रालय स्रोतका अनुसार अध्यक्षको हैसियतले सीटीईभीटीलाई निर्देशन दिनुपर्नेमा नियम उल्लंघन गर्दै चार दिनअघि पत्र पठाउन लगाउनुभएको छ। सम्बन्धन दिन आर्थिक चलखेल भएपछि आठ वर्षदेखि रोकिँदै आएको प्रक्रिया पुनः खुला गरी सम्बन्धन दिन लागेको स्रोतले दाबी गरेको छ। गएको असार १८, १९ र २२ गते तीन दिनसम्म बसेको परिषद्को बैठकले स्वास्थ्य विषय सञ्चालन गर्ने निजी कलेजलाई सम्बन्धन दिने अन्तिम समयसम्म प्रयास गरेको थियो। यसअघि सीटीईभीटीले २८ निजी स्वास्थ्य संस्थालाई सम्बन्धन दिन ५ पेज लामो पत्र मन्त्रालय पठाएको थियो। मन्त्रालयले चिकित्सा शिक्षा र स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख गरेको बुँदासँग बाझिने भएकाले तत्काल सम्बन्धन दिन राय पठाएको थियो।