सुस्तावासीले यसरी भारतीयसँग लडेर जमिन बचाए

265
Graphic: Sureis/THT Online

असार २,
बुटवल । नेपाली नक्साभित्रै पर्ने पश्चिम नवलपरासीको सुस्तामा जंगे पिलर छैनन्। नेपाल–भारत सीमा छुट्याउने सीमास्तम्भ नभएपछि भारतीयले नेपाली भू–भाग अतिक्रमण गर्दै थिचोमिचो गर्न थाले। सहन सक्ने स्थिति नै रहेन। अनि सुस्तावासीले प्रतिवाद गरे। तीमध्येकी एउटी नेतृत्वकर्ता हुन्, नुरुजा वेगम अर्थात् लैला दिदी।

अन्नपूर्ण पोष्ट लेख्छ, २०३४ सालमा नारायणीले धार परिवर्तन गर्‍यो। नारायणीवारी रहेको सुस्ता पारी बन्यो। नवलपरासीको सुस्ता गाउँपालिका ५ मा पर्छ सुस्ता गाउँ। जहाँ पुग्न भारतबाट बाटो हँुदै जानुपर्छ। नारायणीले धार फेरेसँगै भारतीयले नेपाली भूमिमा आँखा गाडे। जोतभोग गरेर उब्जाएको अन्नबालीसमेत लुट्ने भएपछि सुस्तावासी त्यसको प्रतिकारमा उत्रिए। प्रतिकारकै कारण सुस्ताको केही हिस्सा अहिलेसम्म नेपालीकै अधीनमा छ। ‘हामीले नछेकेको भए उहिल्यै अधिनमा पारिसक्थे, सुस्ताकी लैला दिदी अर्थात् नरुजा भन्छिन्, ‘आफ्नै जमिनमा खेती गरेर खान पाएका छौं।’ उनले लैला नाम आफैं राखेकी हुन्। चलचित्रको नायिका–नायकको प्रेम देखेर उनले आफूलाई लैला र देशको भूमिलाई मजनु नाम राखिन्। त्यतिबेलै बाँचुञ्जेल सीमा मिच्न नदिने अठोट राखिन्।

सुस्ताको क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर छ। १४ हजार हेक्टर भारतले अतिक्रमण गरेको छ। साढे सात हजार हेक्टरमात्रै सुस्तावासीले भोगचलन गरेका छन्। १९ हजारभन्दा बढी हेक्टर जमिन नेपाल भारत कसैले भोगचलन नगर्ने सहमति भएको छ। २०६२ मा भारतीयले जमिन अतिक्रमण बढाएपछि ६४ सालमा गाउँलेबीच यो सहमति भएको हो। लैलाजस्तै सुस्तावासीको अठोट छ, १४ हजार हेक्टर जमिन पनि फिर्ता हुनैपर्छ। ‘हाम्रो जमिन भारतीयलाई किन दिने रु , उनको प्रश्न छ। उनकै ५ बिघा बाहेकको जग्गासमेत अतिक्रमणमा परेको छ। पुर्जा, जोतभोग प्रमाण भए पनि फिर्ता भएको छैन। सीमामा पिलर बनेर खटिने लैलाजस्तै सुस्तावासी धेरैको नेपाली नागरिकता नै छैन। तर पनि नेपाली भूमिका लागि लडिरहेका छन्। तीन हजार १ सय ३३ जनसंख्या रहेको सुस्तामा करिब ३ सय ५० जनाको मात्रै नागरिकता छ।

बर्दियाको गुलरिया, रूपन्देहीको मर्चवार, रोहिणी, कपिलवस्तुका सीमामा पनि स्थानीयले भारतसँग प्रतिवाद गरेरै जमिन बचाएका छन्। सुस्तावासीको एउटै माग छ, भूमि फिर्ता, सीमास्तम्भ र नागरिकता छिट्टै मिलोस्। भारतले तोकेको नयाँ सीमासाँध मान्न उनीहरू तयार छैनन्। सिमलको रुख, कल्भर्ट, जंगल र नारायणी नदीलाई सीमा मानिएको छ। सुस्तावासीका अनुसार नेपाली भूभाग अझै परसम्म छ। भारतीय दैनिकजसो अतिक्रमण गर्न प्रयास गर्ने सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवाल बताउँछन्। ‘१५ दिनअघि पनि हामीले बनाएको बाटो अतिक्रमण प्रयास भएको छ’, उनले भने। सुस्तामा पिलर भएरै बसिरहेका रामनन्द चमारले ज्यानै गुमाए। नाप नक्सासहित स्थायी सीमा स्तम्भको माग गर्दै उनी अनसनमा बसेका थिए। अनसन काठमाडौंमा पनि भयो। प्रधानमन्त्रीदेखि मन्त्री, नेतासम्मलाई कैयौंपटक ज्ञापनपत्र बुझाए। तर कसैले सुनेन।

‘भूमि बचाउन ज्यानको बाजी लगाएका हामीलाई अरू केही होइन, हाम्रो जमिनमा गिद्दे नजर कसैले नलगाओस्’, सुस्ता बचाउ अभियानका अर्का अभियन्ता मुन्ना खाँले भने। सुस्ता अवलोकनका लागि धेरै मन्त्री, सांसद र नेताहरू पुगे। तर सुस्ताको लडार्इं सकिएको छैन। लिम्पियाधुरा, लिपुलेक, कालापानीजस्तै सुस्ताको समस्या पनि संसद्बाट समाधान हो भन्ने चाहना उनीहरूको छ। सुस्तामा सुस्तामा २ सय ६५ घर धुरी छन्। २०४० सालमा भारतीय सुरक्षाकर्मीसहित अतिक्रमणमा आएका नागरिकलाई सुस्तावासीले लखेटिदिएको सुस्ता बचाऊ अभियानका अध्यक्ष गोपाल गुरुङले बताए। नेपाली सुरक्षाकर्मी बस्न थालेपछि भने केही सजिलो भएको छ।