रुकुम घटना: अझै छट्पटाइरहेका छन् घाइते

299

पश्चिम रूकुम घटनाले देश तातेको छ । विभिन्न अनुसन्धान टोली र मानवअधिकारकर्मी जाजरकोट पुगेका छन् । खलंगामा नाराबाजी पनि चलिरहेको छ । तर, छटपटाइरहेका घाइतेको उपचारमा कसैले ध्यान दिएको छैन ।
जेठ २५,

जाजरकोट — सुदीप खड्काको शरीरभरि चोट छ, टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर । सुत्दा कोल्टे फेर्‍यो भने ज्यान पूरै दुख्छ । टाउको भाउन्न हुन्छ । पिडुँला टनटनी हुन्छ । तर, योभन्दा धेरै पीडा हुन्छ, जब पश्चिम रुकुमस्थित चौरजहारीको मेसिन अस्पतालले उपचार खर्च असुल्न तारन्तार फोन गर्छ ।

कान्तिपुर दैनिक लेख्छ, गत जेठ १० गते भेरी नगरपालिका–५, रानागाँउका नवराज विक प्रेमिकालाई बिहे गर्न चौरजहारी नगरपालिका–८, सोती जाँदा सुदीप पनि साथै थिए । फर्कदा गाँउलेको बर्बर आक्रमणमा नवराजसहित ६ जना केटाहरुको ज्यान गयो । सुदीपसहित १३ जनाले बल्लतल्ल ज्यान जोगाए, एक जना सुरुमै फुत्कन सफल भए, बाँकीलाई मरणासन्न हुनेगरी पिटियो । गाउँलेले चिर्पट, हसिँया, ढुंगाले हान्दा–हान्दै सुदीपलाई प्रहरीले समातेर मेसिन अस्पताल लगेको थियो, त्यहाँ उनले सकसपूर्ण दुई रात बिताए । पूरा निको नभई घर फर्कनुपर्‍यो, २ हजार ८ सय ४० रुपैयाँ तिर्न बाँकी थियो । यता, ज्यानको दुखाइ कम भएको छैन, उता अस्पतालले ताकेता गरिरहन्छ । ‘पैसा छैन, न अहिले काम गर्न सकिन्छ, न काम पाइन्छ । कसरी तिर्ने, थाहा छैन,’ सुदीपले दुखेसो पोखे ।

पहिल्यैको उपचार खर्च त बुुझाउन नसकेका सुदीपसँग थप उपचार गर्न कसरी पैसा होस् १ टाउकोमा ढुंगा र चिर्पटले हानेकाले भित्र रगत जमेको डर छ उनलाई तर घटना भएको दुई साता हुँदा पनि उनको टाउकाको सिटी स्क्यान हुन सकेको छैन । शरीरका अन्य भागमा लागेको चोटको पनि भित्री जाँच भएको छैन । शुक्रबार रानागाउँस्थित उनको घर पुग्दा बडो चिन्तित मुद्रामा भेटिए । ‘सबै आउँछन्, के भयो भनेर सोधेको–सोध्यै गर्छन् तर उपचार गर्न कसैले वास्ता गर्दैनन्,’ सुदीपले नमिठो अनुभव सुनाए ।