पेट भर्न खोलाकै भर

142

जेठ २५,
बुटवल । साढे दुई महिनादेखि मुलुक लकडाउनमा छ। बुटवलको तिलोत्तमा नगरका सुमन सुनारले भने लकडाउन पालना गर्न पाउँदैनन्। घरमै बसे भने उनको परिवार भोकै हुन्छ। पेट भर्न चर्को घाममा ढुंगागिट्टीसँग लडीबुडी गरेर चारो खोज्नुपर्छ। उनको मात्रै समस्या होइन यो, बुटवल सहरबीच भएर बग्ने तिनाउ नदीको पूर्व–पश्चिम रहेका बाक्लै टहरामा बस्नेको पनि हो। बुटवल उपमहानगरपालिका–११ मा पर्ने यो क्षेत्र मजुवा, बुद्धनगर, तिलोत्तमा नगर, सिर्जना नगरजस्ता ठूला बस्ती र स–साना अन्य बस्ती मिलेर बनेको छ।

बस्तीको पूर्वपट्टि बगिरहेको तिनाउ नदीको ढिकमै टिनले छाएको दुईकोठे घरमा सुमन बस्छन्। घरको आँगन खोलामा बनाइएको ढुंगे बाँधमा जोडिएको छ। त्यही छेउमा बगेको तिनाउ नदीमा पाइने बालुवा नै उनको रोजीरोटी हो। ‘बालुवा ल्याउन सकिएन भने साँझ भोकै बस्नुपर्छ,’ उनले भने।

अन्नपूर्ण पोष्ट लेख्छ, खोलापारिको बगरमा बालुवा जम्मा गरेर राखिएको बालुवाको थुप्रो छ। खोलामा पानी घट्दा उनले बालुवा ओसार्छन्। नदी बढ्यो भने वारपार गर्न कठिन हुन्छ। लकडाउनमा बालुवा बेचेर आफू र परिवारको पेट पाल्नमै व्यस्त छन् सुमन। बालुवा उठाउन नसक्दाको दिन पटक–पटक छिमेकीकहाँ खाना माग्न जानु परेको थियो।

सुमन मुम्बईमा होटलमा खाना बनाउने गर्थे। उनको कमाइले जेनतेन घरखर्च थेगेको थियो। भारतमा कोरोना संक्रमित बढ्दै गएपछि फागुन अन्तिम साता उनी स्वदेश फर्किएको दुई सातापछि नेपाल ‘लकडाउन’मा गयो। त्यसको केही दिनमै सुमनको घरमा रासन सकियो। त्यसपछि बालुवा झिक्न दैनिक आँगन तल रहेको खोलामा छिर्ने गरेका छन्। त्यहाँबाट बालुवा ल्याएर घर बनाउने ठेकेदार अथवा घरधनीलाई प्रतिबोरा ५० रुपैयाँका दरले बेचेर साँझ घरमा चुलो बाल्ने जोहो गरेका छन्।