विभिन्न सहरमा कर्फ्यू

214

जेठ १८,
बीबीसी । जोर्ज फ्लोइड मृत्यु प्रकरणको विरोधमा आयोजित प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञा जारी गरिएको छ।
देशभरि आयोजित विरोध प्रदर्शन नियन्त्रण गर्न दङ्गा प्रहरीलाई खटाइएको छ। प्रहरीको सवारीसाधनमा आगो लगाइएपछि उनीहरूले अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले लुटेरा र अराजकहरूूले हिंसा फैलाएको आरोप लगाएका छन्।
गत सोमवार मिनीयापलिसमा अफ्रिकी अमेरिकी समुदायका ४६ वर्षीय फ्लोइडलाई प्रहरीले समातेपछि उनले ज्यान गुमाएका थिए। डेरेक शौभिन नामक ४४ वर्षीय पूर्वप्रहरीलाई हत्याको आरोपमा पक्राउ गरिएको छ।
उनी घटनापछि पदमुक्त भएका थिए। उनलाई सोमवार अदालतमा पेस गरिनेछ। इन्टरनेटमा भाइरल बनेको एउटा भिडिओमा शौभिनले फ्लोइडको घाँटीमा धेरै मिनेट घुँडाले टेकेर थिचेको देखिन्छ। फ्लोइडले बारम्बार आफूलाई सास फेर्न गाह्रो भएको बताएको पनि सुनिन्छ।