कोरोना र ग्रामीण पर्यटन होमस्टे

-राजकुमार लामिछाने

ग्रामिण पर्यटन नै नेपालको मुख्य आर्थिक समृद्धिको आधार हो । ग्रामिण पर्यटन भनेपछि यो भित्र सिर्फ एउटा पर्यटन मात्र अट्दैन । ग्रामिण पर्यटनले धेरै भन्दा धेरै समुदायलाइ एक ठांउमा ल्याउछ । समुदाय भित्रकै छुट्टाछुट्टै मानिसहरुलाइ पनि एकै स्थानमा भावनात्मक रुपमा अनि आर्थिक उपार्जनको गतिबिधिमा जोड्छ । ग्रामिण पर्यटन त्यही स्थानिय उत्पादनलाइ , स्थानिय संस्कृतिलाई स्थानिय प्राकृतिक स्रोत सम्पदालाइ , स्थानिय भाषा, भेषभुषा , कला , धर्म र एतिहासिक सम्पदालाई जगेर्ना गर्ने , अधिकतम प्रयोग गर्ने उथान गर्ने कार्यको समग्र रुपहरु ग्रामिण पर्यटन भित्र पर्छ । पछिल्लो समय होमस्टे ब्यवसायले केही सिमित होटेल र क्षेत्रमा सिमित पर्यटन अभियानलाइ नेपालको दुर-दराजमा रहेका ग्रामिण क्षेत्रमा रहेका समुदायको चुल्हो चौकोमा पुर्याउन सफल भएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइ पनि स्थानिय खान स्थानिय संस्कृति अनि स्थानिय पर्यटकिय रोजाइमा पर्न थालेको थियो । बाअतबमै नेपालको परिचय नै होमस्टेले दिने कुरामा कुनै शंका नै छैन ।अझ नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर विभिन्न समुदाय हरु होमस्टे तालिम लिने , भौतिक संरचना तयार गर्ने , नँया नयाँ गन्तव्यमा होमस्टे बिस्तार गर्ने अभियानमा थिए । २०२० ले हाम्रो गाउँ हाम्रो स्थानिय उत्पादनलाइ उजागर गर्नेछ र आगामी दिनमा होमस्टे ब्यवसाय फलदायी हुनेछ भन्ने बिश्वासका साथ सबै गाउँ जाती समुदाय अग्रसर भैरहेका थिए ।

लेखकः राजकुमार लामिछाने

होमस्टे एशोसिएसन नेपालको पहलमा नेपाल सरकार संघ प्रदेश र स्थानिय तह समेत गाउँ गाँउमा होमस्टेको बिकास र बिस्तार अनि क्षमता अभिबृध्दीतर्फ तल्लिन हुन लागेको आभाष मिलिरहेको थियो । हामिले २०२० लाई होमस्टे बिस्तार , क्षमता बिकास र विश्व बजारमा होमस्टे उत्पादनको प्राचार प्रसार र पहिचान बनाउने बर्षका रुपमा लिदै थियौ । तर बिश्वभर फैलिएको कोरोना माहामारिका कारण सबै क्षेत्रमा असर परेसंगै नेपालको ग्रामिण पर्यटन र ग्रामिण पर्यटनकै मुख्य क्षेत्र होमस्टे यतिबेला थला परेको छ । देशभर रहेका करिब दर्ता भएका ८०० सामुदायिक र २०० निजि गरि १००० होमस्टेका औसत १२५०० परिवार र दर्ता नभैकन दर्ता अभियानका लागि आफुलाइ तयार गर्दै गरेका २००० माथिका ग्रामिण समुदाय यतिबेला सम्पुर्ण गतिबिधी ठप्प बनाएर बस्न बाध्य छन । अहिले देशभर लकडाउन जारी छ । कोरोना माहामारी बिस्तारै नेपालमा झन बढ्दै छ । भोलि यो महामारी रोकिएला र लकडाउन पनि हट्ला तर तत्काल ग्रामिण पर्यटन उठन कठिन हुने छ । यसैले अहिले देखि नै हामी सबैले तत्कालिन , मध्यकालिन र दिर्घकालिन गरेर ३ किसिमको योजनाको तयारी गरेर तत्काल कार्यान्वयनमा जानू जरुरी देखिन्छ ।

तत्कालिन रुपमा गर्नु पर्ने तयारी
१) संघ, प्रदेश, स्थानिय तहले आ आफ्नो क्षेत्रमा यस्ता कति सामुदायिक निजि होमस्टे थिए, कति दर्ताका लागि तयारी गर्दै थिए , हाल तिनको अवस्था के छ ? सम्बन्धित निकायहरु ( ताराँगाउ बिकास समिती , पर्यटन बिभाग , नेपाल पर्यटन बोर्ड , पर्यतन बिकास आयोजनाहरु , र होमस्टे एशोसिएसन नेपाल ) के गर्दै छन ? आर्थिक रुपमा के कस्तो क्षति पुगेको छ त्यस्को अध्ययन अनुसन्धान र तथ्य शंकलन गर्ने कार्य गर्नु जरुरी छ ।
२) होमस्टे तथा ग्रामिण पर्यटन संग सम्बन्धित निकाय संघ संस्था , क्षेत्रको प्रतिनिधिमुलक छलफल आयोजना गरि कुन क्षेत्रमा के गर्ने हो ? कसरी अघि बढ्नु आवश्यक छ राय सल्लाह सुझाव र यथार्थ बिबरण शंकलन गर्नु पर्ने हुन्छ ।
३) ग्रामिण पर्यटनमा लगानी गर्ने , ऋण लिएर ब्यवसाय संचालनको लागि पहल गर्ने , सोहि ब्यवसायबाट आफ्नो आफ्नो परिवार र समुदायको रोजिरोटी चलाउदै जिबिकोपार्जन गर्ने समुदायलाइ तत्काल महसुस हुने गरि आर्थिकरुपमा नै राहतको ब्यवस्था गर्नु जरुरी छ ।
मध्यकालिन रुपमा गर्नुपर्ने कामहरु
१) हाल रहेका होमस्टे तथा ग्रामिण पर्यटन क्षेत्रको क्षमता बिकास तथा भौतिक पुर्वाधरको अवस्था हेरि क ख ग घ बर्गमा बिभाजन गरि छुट्टाछुट्टै छुट्टाछुट्टै योजना कार्यान्वयन गर्नुपर्ने हुन्छ
२) उत्कृष्ट क ख बर्गको क्षेत्र र उत्पादनको बजारिकरण र ब्रान्डिन्ङ गर्ने कार्यलाइ अगाडि बढाउनु पर्छ भने ग र घ बर्गको क्षमता अभिबृध्दी तथा भौतिक संरचना निर्माणको क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ ।
३) कोरोना माहामारी थला परेको यो क्षेत्रमा धेरै नै ब्यवसायी र समुदाय अहिले निराश अवस्थामा छन तिनलाइ यो क्षेत्रबाट बिलिन हुन नदिन राज्यको तर्फबाट प्रोत्साहन दिने प्याकेजहरुको घोषणा हुन जरुरी छ ।
४) कोरोना महामारी पछि बाह्य पर्यटकको आवागमन हाम्रो नियन्त्रणमा नरहे पनि आन्तरिक रुपमा सरकारी गैरसरकारी क्षेत्रलाइ आन्तरिक पर्यटनमा टेवा पुग्ने गरि गतिबिधी गर्न राज्यले नीति ल्याउने कार्य गर्न जरुरी छ । यसैसाथ एक ग्रामिण पर्यटन क्षेत्र होमस्टेमा बस्नै पर्ने नीति ल्याउदा होमस्टे ब्यवासय ठप्पै भैरहने र ब्यवसायी पलायन हुने कार्य रोक्न सकिने छ ।
५) ग्रामिण पर्यटन क्षेत्र होमस्टेको बिकास बिस्तार र पुनस्र्त्थान गर्न आवश्यक अनुदान , सहुलियतपूर्ण कर्जा , सरकारी निजि तथा सामुदायिक साझेदारीमा लगानी गर्न सकिने ब्यवस्था गर्नु जरुरी देखिन्छ ।
६) कृषि , बन , संस्कृति , सरसफाइ , सामुदायिक स्वास्थ्य , धर्म , जातजाति , महिला , दलित , पुरातत्व , सिपमिलक तालिम लगायत बिबिध शिर्षकमा संघ प्रदेश र स्थानिय तहले छुट्टाछुट्टै छुट्याइने बजेटलाइ सम्भव हुने सम्म एकीकृत रुपमा ग्रामीण पर्यटन होमस्टे मार्फत जोडेर ल्याउन सकियो भने ग्रामीण पर्यटन पनि उकास्न मद्दत पुग्ने र बजेटले चाहेको नतिजा पनि प्राप्त हुने थियो । साथै यो बजेट कार्यान्वयनका लाग्ने प्रसासनिक खर्च समेत कम गर्न मद्दत पुने देखिन्छ ।

दिर्घकालिन रुपमा गर्नुपर्ने कार्यहरु
१) ग्रामिण पर्यटन होमस्टे सम्बन्धि भएका , र बनाउनु पर्ने कानुन ऎन, नीति नियम , नियमावली , निर्देशिकाहरु सबैलाइ एकै ठाउँ राखेर पुनरावलोकन गरि देशैभर एकरुपता दिने र समय सापेक्ष नीति निर्माण गर्नु जरुरी छ ।
२) ग्रामिण पर्यटन होमस्टे दर्ता नवीकरण र खारेज गर्ने , अनुगमन गर्ने , भौतिक पुर्वाधर सम्बन्धी काम गर्ने , क्षमता अभिबृद्धी गर्ने , अनुगमन गर्ने , प्रोत्साहन , दन्ड जरिवाना गर्ने निकाय एकिन हुन जरुरी छ । ३) ग्रामिण पर्यटन होमस्टेको ब्रान्डिङ्ग गर्ने , प्रचार सामाग्री तयार गर्ने , राष्ट्रिय तथा अन्तरास्ट्रिय बजारमा प्रचार प्रसार गर्ने , सफल र उदाहरणिय होमस्टेहरुमा एक्स्पोजर भ्रमण हरु गराउने जस्ता कार्य गर्न जरुरी छ । ४) ग्रामिण पर्यटन मेला प्रदेश स्तरिय रुपमा होमस्टेहरुमै आयोजना गर्ने , दक्षिण एसियाली स्तर देखि अन्तरास्ट्रिय स्तरका होमस्टे मेलाहरु आओजना गर्दै जानू पर्ने जरुरी छ । होमस्टे ब्यवसाय बिशुद्द ब्यवसाय मात्र हैन । यस्ले ग्रामिण समुदायको प्रतिनिधित्व गर्छ ।

नेपालको मौलिक परंपरा धर्म संस्कृति कला , चाडपर्व ,समुदाय ,भाषाभेष जातजातिको पहिचान , महिला शसक्तिकरण , छुवाछुत प्रथाको अन्त्य , स्वास्थ्य, सरसफाइ अभियानमा टेवा पुर्याउने , स्थानिय स्रोत साधनको जगेर्ना , बिकास बिस्तार र उजागर गर्ने तथा यसै स्थानिय स्रोत र साधनको अधिकतम प्रयोगबाट गरिबी निवारण गर्दै आर्थिक संमृद्धी हाशिल गर्ने माध्यम हो ग्रामिण पर्यटन होमस्टे । बिदेशी पर्ययटकका लागि मात्र हैन हाम्रा अब आउने पुस्तालाइ यदि हाम्रो पहिचान जोगाउने हो हस्तान्तरण गर्ने हो चिनाउने हो , देखाउने हो भने पनि हाम्रो ग्रामिण पर्यटन होमस्टे जोगाउनु जरुरी छ , बिकास र बिस्तार गर्न जरुरी छ । तसर्थ बेलैमा ग्रामिण पर्यटन होमस्टेसंग सरोकार राख्ने सम्बन्धित सम्पुर्ण सरकारी गैरसरकारी निकाय संघ संस्थाब्र क्षेत्रलाइ सचेत रहन र कार्यान्वयनमा उत्रन म हार्दिक अनुरोध गर्दछु ।

-लामिछाने होमस्टे अभियन्ता , होमस्टे एसोसिएसन नेपाल (HOSAN )केन्द्रिय सदस्य हुन् ।  -नगरकोट