काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका सिल !

278

जेठ ६,
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग माग गरेको छ । विश्वभरि फैलिएको कोरोना भाइरसले पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि सङ्क्रमण बढ्दै गइरहेकाले कामपाको ४६औँ विशेष नगर कार्यपालिका बैठकको निर्णयले यस्तो आग्रह गरेको हो ।

‘कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश विन्दु ९नाका० बाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरी उपत्यका प्रवेश गर्ने क्रम नरोकिएको भन्दै कामपाले यस किसिमको आग्रह गरेको हो ।

प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाडौँमा कोरोना भाइरस सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई लेखी पठाउने निर्णय बैठकमा भएको जानकारी दिए ।