कतै कालोबजारी भए मन्त्रालयमा फोन गर्नुस् : मन्त्री भट्ट

229

फागुन २४,
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अत्यावश्यक बस्तु पर्याप्त रहेकाले कालोबजारी गरेको पाइए मन्त्रालयमा फोन गर्न आग्रह गरेका छन् । कोरोना भाइरसका कारण बजारमा अत्यावश्यक बस्तु अभाव हुने हल्ला चलाएर कालोबजारी गर्नेविरुद्ध जानकारी गराउन उनले आग्रह गरेका हुन् । कालोबजारीको जानकारी सरकारलाई गराएर अनुगमनकर्ता बन्न उनले जनतालाई अपिल गरे ।

काठमाडौंमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा भट्टले नेपालमा आवश्यक पर्ने औषधि उपलब्ध गराउने भारतले जनाइसकेकाले त्यसको पनि अभाव नहुने बताए । बजारमा हुने कालो बजारी नियन्त्रणका लागि सबै नागरिक अनुगमनकर्ता बन्नुपर्ने उनले बताए । भट्टले खाना पकाउने ग्यास, पोट्रोलियम पदार्थ, नुन, चिनीलगायत अत्यावस्यक वस्तुहरु बजारमा प्रयाप्त रहको जानकारी दिए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले बजारमा कुनै पनि बस्तु अभाव नरहेको स्पष्ट पारे । अत्यावश्यक सामग्रीहरु बजारमा प्रशस्त रहेको भन्दै कालोबजारीलाई सघाउ पुग्नेगरी हल्ला नगर्न उनले आग्रह गरे ।

उपभोक्ताकर्मी प्रेमलाल महर्जनले कालोबजारी बढे पनि सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाउन नसकेको आरोप लगाए । प्राकृतिक विपदको बेला कालोबजारी गर्नेमाथि अनुगमन बढाई कारबाही गर्नुपर्ने उनले बताए ।
नोभल कोरोना भाइरसका कारण बजारमा मास्क, पञ्जा लगायतका वस्तुहरुको अभाव भएको छ । त्यस्तै भारतले औषधि निर्यात नगर्ने बताएसँगै अत्यावश्यक औषधिको समेत अभाव हुने हल्ला चलेको छ । त्यसबाहेक खाना पकाउने ग्यासको समेत अभाव देखिन थालेको छ ।

त्यस्तै खाद्यसामग्रीको समेत अभाव हुने बजारमा कालोबजारी बढेको महर्जनले बताए ।