ज्वाइँले सुसरालाई गोली हाने

145

फागुन २४,
धनुषा । केही दिनअघि राति घरको छेउमा पिसाब गर्न निस्केका एक वृद्धलाई आफ्नै ज्वाइँले गोली हानेको रहस्य खुलेको छ । गोली लागेर घाइते भएका ६२ वर्षीय सहदेवप्रसाद यादवले ज्वाइँले नै आफूमाथि आक्रमण गरेको प्रहरीलाई बताएका हुन् ।

यादव महोत्तरीको मनरासिसवा नगरपालिका-३ का बासिन्दा हुन् । १८ फागुन राति २ बजे घर बाहिर पिसाब गर्न निस्कएका उनीमाथि गोली प्रहार भएको थियो। दायाँ कोखमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई जनकपुरधामस्थित जानकी हेल्थकेयर अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । पाँच दिन हस्पिटलको आइसीयू कक्षमा राखेर उपचार गरिएका उनी अहिले खतरामुक्त रहेका चिकित्सकले बताएका छन्।

अस्पतालको नर्मल वार्डमा राखेर उनको उपचार भइरहेको छ । उपचारमै रहेका घाइते यादवले आफूलाई आफ्ना कान्छो ज्वाइँ महोत्तरीको औरही नगरपालिका-१ का सन्तोष यादवले गोली प्रहार गरेको बताएका छन् ।

‘मध्यरातमा पिसाब फेर्न उठेको थिएँ । श्रीमती पनि मसँगै उठेकी थिइन् । मैले मोबाइलमा टर्च बालेको थिएँ । घर बाहिर निस्किँदा ३ जनालाई देवालको भित्तामा लुकेको देखेँ । एक जना मेरै ज्वाइँ थिए । हेर्नेबितिकै मोबाइलको उज्यालोमाथि २ गोली प्रहार गर्यो । एउटा गोली छेउबाट गयो । अर्को मेरो कोखमा लाग्यो र म ढलेँ’, घाइते यादवले भने । जाँडरक्सी सेवन गरी पटक-पटक पैसा ऋण माग्ने र ‘तेरो बाउले पैसा दिएन’ भन्दै छोरीलाई कुटपिट गर्ने गरेका कारण ज्वाइँसँग सम्बन्ध चिसिएको घाइते यादवको भनाइ छ ।

‘७र८ महिनाअघि ५ लाख रुपैयाँ खोजिदिन भनेका थिए । मसँग पैसा थिएन । अरुसँग दिलाइदिन खोज्दा पनि उपाय भएन । त्यसपछि पटक(पटक फोन गरी तथानाम गाली, धम्की दिए । मैले पनि केही कुरा भने । त्यही बेलादेखि ममाथि दुश्मनी साँध्दै आएका थिए’, यादवले भने, ‘ज्वाइँ पहिलादेखि नै बदमास छन् । अन्तमा मलाई हत्या नै गर्न खोजे । भगवानको कृपाले बाचेँ । उनीमाथि कडा कारबाही हुनुपर्छ ।’

घाइते यादवका २ छोरा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् । उनका दुई बुहारीसमेत घरमा नभएको बेला गोली प्रहार भएको थियो । यादव अवकाश प्राप्त शिक्षक हुन् । यादवमाथि गोली प्रहार गर्ने उनका ज्वाइँ सन्तोष यादवलाई प्रहरीले प्रक्राउ गरेको छ । घटना भएकै दिन साँझ उनलाई पक्राउ गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

नायव उपरीक्षक बुढाथोकीले भने, ‘ससुरा र ज्वाइँबीच पैसा लेनदेनकै विवादको कारण गोली प्रहार भएको अहिलेसम्मको अनुसन्धानले देखाउँछ । थप अनुसन्धान भइरहेको छ ।’ससुरा पक्षले ज्वाइँ सन्तोषलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दर्ता गराएको छ । घटनाको भोलिपल्ट घाइते यादवका भाइले ज्वाइँमाथि किटानी जाहेरी दर्ता गराएकोे प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए । -शिलापत्रबाट