फागुन १५,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले घुस लिएको भन्ने व्यहोराको अडियो पोख्त प्रमाण नभएको बताएका छन् । प्रधानमन्त्री ओलीको यस्तो बचाउले कतै बाँस्कोटा फेरि मन्त्री हुन्छन् कि भन्ने संकेत देखिएको छ । सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) स्थापनको ठेक्का सम्झौता गर्न ठेकेदारसँग कमिसन मागेको अडियो भनिए पनि उक्त विषय प्रमाणित भइ नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
बिहीबार काठमाडौंमा नेकपा वाग्मती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले अडियोबारे बुझ्ने काम भइरहेको बताए । ‘उक्त अडियो पूर्ण रुपमा प्रमाण हो कि हैन भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ । उहाँ ९बाँस्कोटा०ले घुस मागेको विषय अहिले नै प्रमाणित भइसकेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रमाणित भयो भने उहाँले दोषअनुसारको सजाय भोग्नुहुन्छ ।’ बास्कोटाले उक्त अडियो आफ्नो नभएको भन्ने जवाफ दिएको पनि ओलीले सुनाए ।
‘कोही अनाडी मान्छेले अनाधिकृत ढंगले टेप सार्वजनिक गरेको हो, बाँस्कोटाले मेरो आवाज होईन भन्नुभएको छ । भ्रष्टाचार गरेको प्रमाणित छैन,’ प्रधानमन्त्री ओलीले भने । उनले बाँस्कोटाले भ्रष्टाचार गरेकोजस्तो गरी प्रचार गर्नु जरूरी नभएको पनि बताए । उनले भने,‘दोष भए उहाँले सजाय भोग्नु पर्छ। अहिलेसम्म उजुरी परेको छैन।’ उनले कसैले आफ्नो पनि नाम जोडेर अख्तियारमा उजुरी दिएको तर त्यो औचित्यहीन भएको बताए ।